नेपालमा हाल आर्थिक क्षेत्रमा निराशा छाइरहेका बेला अर्थतन्त्रको पछिल्लो सूचकले सानो भएपनि प्रसन्नता दिलाएको छ । नेपाल राष्ट्र बैंंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९(८० को पहिलो चार महीना अर्थात साउन(कार्तिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले गत वर्ष अर्थतन्त्रमा देखा परेको बाह्य क्षेत्रको संकटमा सुधार हुन थालेको देखाएको छ । प्रतिवेदनका अनुसार, कार्तिकसम्म बैंंकिङ क्षेत्रसँग भएको विदेशी विनिमयको सञ्चिति बढेको देखिन्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ९ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ । असोजमा ९ अर्ब ४८ करोड अमेरिकी डलर थियो ।

गत वर्ष विदेशी मुद्राको सञ्चिति तीव्र रुपमा घटेपछि सरकारले बाह्य क्षेत्रको सन्तुलनमा संकट आउने अनुमान गरेर कयौं वस्तुको आयातलाई रोकेको थियो । कात्तिकसम्मको विदेशी विनिमयको सञ्चितिले ८.४ महीनाको वस्तु र सेवा आयात गर्न धान्छ ।

राष्ट्र बैंकले मौज्दात विदेशी विनिमयको सञ्चिति कम्तीमा सात महीनाको वस्तु र सेवा आयात गर्नपुग्ने गरी लक्ष्य तोकेको छ । विदेशी मुद्राको सञ्चितिमा सुधार आउन थालेसँगै सरकारले रोक लगाएका वस्तुको आयात गर्ने बाटो खुला गरिसकेको छ । त्यसैगरी, शोधनान्तर स्थिति कात्तिकमा १४ करोड ९६ लाख डलर वचतमा छ । गत वर्षको यही अवधिमा यस्तो शोधनान्तर स्थिति १ अर्ब २७ करोड अमेरिकी डलर घाटामा थियो । यस वर्ष आयातमा कटौतिसँगै शोधनान्तर स्थिति सकारात्मक भएको हो ।

त्यस्तै, वैदेशिक कारोबारलाई जनाउने चालू खाता २८ करोड अमेरिकी डलर घाटामा छ । गत वर्षको यही अवधिमा एक अर्ब ८६ करोड डलर घाटामा थियो । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिटेन्सको वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको खाडल पुर्न भरथेग गरेको देखिन्छ । कात्तिकसम्म रेमिटेन्सको आप्रवाह १०.८ प्रतिशत बढेको छ । यसले नेपालको आर्थिक अवस्था सुधारतर्फ अघि बढेको संकेत देखाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here