पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा बिहीवार राति जंगली हात्ती गाउँमा पसेर स्थानीयको घर भत्काउनुका साथै लाखौ रुपैया बराबरको अन्नबाली खाएर नष्ट गरेको छ ।

उपमहानगरपालिका वडा नं. १६ को पिलुवा, पैनीटोल र डकाहका स्थानीयको घरमा हात्तीले क्षति पुर्याएको हो । मध्यरातमा गाउँ पसेको एउटा हात्तीले पैनीटोलका शत्रुघन साहको फुसको घर भत्काउनुको साथै पिलुवाका माधव मैनालीको घरको पाली भत्काएर भकारीको धान खाएको मैनालीले सुनाउनुभयो । हात्तीले डकाहा पैनीटोलकी ज्योली मगरको घर र सन्चमाया तामाङ्गको धानबालीमा पनि क्षति गरेको छ ।

जंगली हात्तीले केहि दिनयता सर्वसाधारणको घर भत्काउने, घरभित्र राखिएको र खेतबारीको अन्न खाएर नष्ट पारेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ वडा समितिका सदस्य हेमबहादुर बुर्जा मगरले बताउनुभयो । हात्तीले दुख दिन थालेपछि गाउँलेहरु उठेर होहल्ला गरेको र हात्ती राति नै जंगल पसेको उहाँले बताउनुभयो ।

केही दिनअघि जंगलबाट एक्लै आएको हात्तीले निजगढ नगरपालिका वडा नम्बर १३ को भक्तलाल क्षेत्रमा पनि स्थानीयको ३ वटा घर र गोठ भत्काएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here