राजकुमार यादव
मौलापुर,मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये रौतहटको मौलापुर वितरण केन्द्रबाट सबैभन्दा धेरै विद्युत् चुहावट हुने गरेको छ ।नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ ।
मौलापुर केन्द्रबाट ४३ दशमलव ४० प्रतिशतले विद्युत् चुहावट भएको देखिन्छ । प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेसका धेरैजसो वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ । उहाँका अनुसार मधेसका गाउँ–गाउँमा हुकिङ गरेर तथा मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति छ ।
मधेस प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा बाराको सिम्रौनगढ रहेको छ । यो केन्द्रमा ४३ दशमलव २३ प्रतिशत विद्युत् चुहावट छ । सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ ।
मधेस प्रदेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरका अनुसार गएको वर्ष विद्युत् चुहावटमा संलग्न रहेका सात हजार ९७ जनालाई कारबाही गरिएको छ ।


















