वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर– २ बागबाना गाउँमा रोकेर राखेको बसमा आगलागी हुँदा बस जलेर पुर्णरुपमा नष्ट भएको छ ।ना ४ ख ३४६५ नम्बरको बिगानाथ थारु मालिक रहेको बसमा अचानक आगो लाग्दा बस जलेको हो । बसको चार वटा टायर बाहेक सबै जलेको छ । बागबाना हुँदै हरपुर, बहुअर्वा वीरगञ्जसम्म चल्ने सो बस सोमवार अर्को बसको पालो परेपछि बागबाना गाउँमा रोकेर राखिएको थियो ।
बागबानाबाट पर्साको ग्रामीण भेग हुदै दुई वटा बस प्रत्येक दिन आलोपालो गरि चल्ने गरेको छ । बसमा विद्युतीय तार सर्ट भई आगो लागेको हुनसक्ने आशंका गरिएको छ । बसमा लागेको आगो स्थानीयबासी, प्रहरी चौकी मनवा र सखुवाप्रसौनी गाउँपालिकाको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।आगलागीको घटनाबारेमा थप अनुसन्धान भइरहेको मनवा प्रहरी चौकीका ईन्चार्ज मनोज यादबले बताउनुभयो । बसमा आगो लागेको देख्नेबितिकै पर्सागढीको बारुणयन्त्रका चालकलाई फोन गर्दाबारुणयन्त्र समयमै नगएको भन्दै स्थानीयहरुले आक्रोशित भएका थिए ।



















