वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चामलको बोराभित्र लुकाएर लागूऔषधको ओसार पसार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका– ५ हरैया टोलका २५ वर्षीय दिलीप प्रसाद राय र २२ वर्षीय राजविद्या प्रसाद खाँ थारु रहेका छन् ।उनीहरूलाई वैशाख ४ गते साँझ ५ बजेको समयमा जिराभवानी गाउँपालिका– ३ नौका टोलस्थित हुलाकी सडकखण्डमा पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई चामलको बोराभित्र लुकाएको लागूऔषधसहित पक्राउ गइएको हो ।

प्रहरीले सुवर्णपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकलमा सवार दुवै अभियुक्तलाई रोकेर कानुनी प्रक्रियाअनुसार खानतलासी अभियुक्तहरूले चामलको बोराभित्र लुकाएर ल्याएको प्रतिबन्धित लागूऔषध नाइट्राजेपामको ८८६ ट्याब्लेट फेला परेको डिएसपी भट्टले पठाएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ ।
लागूऔषध दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर अभियुक्तहरू विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको डिएसपी भट्टले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधको अवैध कारोबारविरुद्ध कडा निगरानी र कारबाही जारी राखेको जनाएको छ ।
तीन सय किलो गाँजासहित तीनजना पक्राउ
सिमरा,प्रहरीले सिमराबाट तीन सय किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो वीरगञ्जको संयुक्त टोलीले जीतपुरसिमरा ३ स्थित बजनीबाट उनीहरुलाई बिहीवार राति पक्राउ गरेको हो ।मिनिट्रकमा अवैधरुपमा लागूऔषध गाँजा ढुवानी गरि लगिरहेको अवस्थामा प्रहरीले मकवानपुर कैलाश गाउँपालिका ४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका ३ का ३३ वर्षीय ईश्वर लोप्चन र मोटरसाइकल चालक कैलाश गाउँपालिका १० का २७ वर्षीय जीवन थोकरलाई पक्राउ गरेको हो ।पक्राउ परेकामध्ये लामा र लोप्चन ट्रकमा सवार थिए भने थोकर मोटरसाइकलमा सवार थिए । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख २५०४ नम्बरको मिनिट्रकमा गाँजा राखेर ना ३३ प ७४६९ नम्बरको मोटरसाइकलले स्कर्टिङ गर्दै लगिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीले मिनिट्रकबाट प्लास्टिकमा बेरिएको १६ वटा ठूलो र तीन वटा सानो प्याकेट गरि करिब तीन सय किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ ।



















