सिमरा,आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि राजस्व नीति तथा कार्यक्रम सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सिमरामा सम्पन्न भएको छ ।नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिको आयोजना र वीरगञ्ज उद्योग वाणिज्य संघ तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको सह–आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा राजस्व व्यवस्थापन समितिका सदस्य सचिव तथा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्री, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानीलगायत विभिन्न सरकारी निकाय र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा आगामी वर्षको राजस्व नीतिलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री बनाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रत्यक्ष सुझाव र भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
राजस्व परामर्श समितिका संयोजक दिनेशकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा राजस्व प्रणाली सुधार र व्यावसायिक वातावरण सहज बनाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।यसैबिच वीरगञ्जका उद्योगी–व्यवसायीले आउँदो आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा उद्योग र व्यवसायीमैत्री नीति अवलम्बन गरिनुपर्ने सुझाव दिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशप्रसाद घिमिरेलाई बजेटमा समावेश गर्नुपर्ने २३ बुँदे सुझाव हस्तान्तरण गर्दै उद्योग, व्यवसाय सञ्चालन र स्थापनाको प्रक्रिया सरल र सहज हुनुपर्ने बताउनुभएको छ ।अहिले पनि उद्योग, व्यवसाय सञ्चालन र स्थापनामा विभिन्न थरिका ऐन र प्रशासनिक जटिलताले बोझिलो बनाएको व्यवसायीको गुनासो छ । अध्यक्ष गौतमले सङ्घले फिर्ता पाउनुपर्ने मूल्य अभिवृद्धि करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने सुझाव दिनुभयो ।सङ्घले सरकारसँग भारतीय ‘गुड्स एन्ड सर्भिस ट्याक्स’ (जीएसटी) को सापेक्ष भन्सार महसुल निर्धारण गर्न पनि माग गरेको छ । सङ्घले उधारो कारोबार कानून सम्बन्धमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगबाट सिफारिश भएको मस्यौदा विधेयक मन्त्रिपरिषदमा राजनीतिक समितिमा रहेकाले पनि त्यसलाई पास गरी विधेयकका रूपमा संसदमा पेश गरी फास्टट्रयाकबाट कानुन बनाउनुपर्ने सुझाव दिएको छ । वीरगञ्ज– पथलैया औद्योगिक करिडोरको बीचमा रहेको सिर्सिया नदीलाई प्रदूषणरहित बनाउन ‘वेष्ट ट्रिटमेन्ट प्लान्ट’ को स्थापनाका लागि व्यवसायीहरुले माग गर्दैआएका छन ।