निजगढ,राष्ट्रिय भूमि आयोग बाराले शुक्रवारबाट निजगढ ४ को कछडिया टोलको सुकुम्बासी बस्तिमा जग्गा नापजाँचको काम शुरु गरेको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सर्भे मेसिन चलाएर उद्धाटन गर्नुभएपछि भूमि आयोग बाराका प्राविधिकहरुले निजगढ नगरपालिका ४ कछडिया टोलमा भूमिहिन दलित, सुकुम्बासी र अव्यस्थित बसोबासीले भोगचल गर्दैआएको जमिनको नापजाँच शुरु गरेका हुन ।

आयोगबाट खटेका २ जना सर्वेक्षक र ४ जना अमिनसहितको टोलीले जमिन नापीको काम शुरु गरेको निजगढ नगरपालिका नापी शाखाका अमिन अनिल शाहले बताउनुभयो । उहाँका अनुसार कर्मचारीहरुले सो क्षेत्रमा पर्ने नम्बरी जमिन छुट्याएर स्थानीयले भोग गर्दैआएको ऐलानी जमिनको नक्सा बनाउने प्रयोजनको लागि जग्गा नापजाँच शुरु गरेको हो । अबको एक साताभित्र सो क्षेत्रको जमिन नापजाँचको काम पुरा हुने र नक्सा तयार पारेर बुझाएपछि आयोगले धनीपूर्जा वितरण प्रक्रिया शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

बस्तिमा हाल ५८८ अव्यवस्थित बसोबासी, ७३ भूमिहिन सुकुम्बासी र १ भूमिहिन दलित गरी ६६२ परिवारको बसोबास रहेको स्थानीय अगुवा महेशी कुवरले जानकारी दिनुभयो ।सो जमिनमा ०५४ सालबाट सुुकुम्बासीले बसोबास शुरु गरेका हुन । टोलीले सोही वडाको पुरानो टोलको सुकुम्बासी बस्तीमा पनि जग्गा नापजाँचको काम शुरु गरेको छ ।सो अवसरमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडाहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले कसैको प्रभाव र दवावमा नपरी जमिन नाप्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । त्यसैगरी उहाँले जग्गाधनीहरुले पनि आफूहरुले भोगचल गरेको जमिनमात्रै दाबी गर्न आग्रह गर्नुभएको थियो ।

यसअघि छविलाल उप्रेती अध्यक्ष रहेको आयोगले निजगढ नगरपालिका वडा नम्बर ८ खयरघारीमा पनि जमिन नापचाँजको काम पूरा गरेको थियो । तर सो क्षेत्रका बासिन्दाले अहिलेसम्म पनि धनीपूर्जा हात पार्न सकेका छैनन ।

Leave a Reply