हेटौंडा –  मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका– २ स्थित हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डको सुकौरामा मङ्गलबार दिउँसो भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने बाराका २ सहित ४ जना घाइते भएका छन । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको म. प्र. ०३–००१ ज ०७२० नम्बरको गाडी सडकबाट करिब एक किलो मिटर तल खस्दा बारा र पर्साका दुई जनासहित चार यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बारा परवानीपुर गाउँपालिका– ३ का ३२ वर्षीय सरफरोस मियाँ र पर्सा छिपहरमाइ गाउँपालिका– २ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साहको मृत्यु भएको छ । उनीहरूसँगै धनुषाका ४३ वर्षीय सुरज भट्टराई र नवलपरासी पूर्वका २४ वर्षीय नरबहादुर सिंह ठकुरीको पनि ज्यान गएको छ । उनीहरूको साथमा भेटिएका नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका आधारमा पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा चालकसहित बारा जिल्लाका चार जना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक बाराको कलैया उपमहानगरपालिका– २४ का २० वर्षीय अमिर अन्सारी र यात्रुमा बारा महागढीमाई नगरपालिका– ११ की २१ वर्षीया बबियाकुमारी यादव रहेकी छिन् ।

यसैगरी मकवानपुरका राजकुमार स्याङ्तान र कल्पना तामाङ पनि घाइते भएका छन् । घाइतेमध्ये चालक अन्सारी, तामाङ र स्याङ्तानको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने यादवको हेटौंडा अस्पतालमा उपचार जारी छ ।
दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जना प्रहरी उद्धार तथा अनुसन्धानका लागि परिचालन गरिएको थियो । घटनास्थलमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply