वीरगन्ज,वीरगन्जसंगै देशभर पछिल्लो एक हप्ता यता कोरोना संक्रमितको संख्या निरन्तर घट्दै र निको हुनेको संख्या बढ्दै जान थालेको भएपनि अझै सावधानी अपनाउन आवश्यक नै रहेको चिकित्सकहरुले बताएका छन् । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको कोरोनाको परीक्षणमा एक सातायता संक्रमण दर र संक्रमितको संख्या निरन्तर कम हुदै गएको देखिएको छ । यस्तै संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको छ । तर संक्रमण कायम नै रहेकाले अझै पनि सावधानी र सतर्कता अपनाउन आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।
नारायणी अस्पतालको प्रयोगशालामा जेठ ११ गते २८२ को परीक्षण गर्दा ६०, १२ गते १९२ जनाको परीक्षण गर्दा ४०, १३ गते १७७ जनाको परीक्षण गर्दा ४२, १४ गते ८० जनाको परीक्षण गर्दा १४, १५ गते ७७ जनाको परीक्षण गर्दा ११, १६ गते १८३ जनाको परीक्षण गर्दा २५ जनामा र सोमबार जेठ १७ गते ९२ जनाको परीक्षण गर्दा १८ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।
वीरगन्जमा बैशाख दोश्रो र तेश्रो साता ७० देखि ७५ प्रतिशत पुगेको संक्रमण दर बैशाख अन्तिम सातादेखि घट्दै गएर अहिले २० प्रतिशतको हाराहारीमा झरेको छ । जेठ १४ गते यता भने दैनिक २० भन्दा कम संख्यामा संक्रमति थपिएका छन् । सोमबार पनि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा मात्र संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताउनुभयो । पछिल्लो एक सातायता वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गराउनेहरुको संख्या कम हुदै आएकाले संक्रमितको संख्या पनि कम हुदै गएको हो । यदि परीक्षणको दायरा फेरि पनि बढाउने हो भने संक्रमितको संख्या अझ बढी हुने जानकारहरुले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले पनि पहिलेको तुलानामा अहिले केहि दिनयता परीक्षण गराउनेको संख्यामा कमी आएकाले नयाँ संक्रमितको संख्या पनि कम हुदै गएको बताउनुभयो ।
संक्रमण दर उच्च भएका बेला घरघरमा ज्वरो, रुघा खोकी, निमोनियका बिरामी भएका कारण त्यस बेला परीक्षण गराउनेहरुको संख्या धेरै रहेको भन्दै उहाँले अहिले त्यस्ता स्वास्थ्य समस्या कम हुदै गएकाले संक्रमितको संख्या पनि कम हुदै गएको बताउनुभयो । एक सातायता संक्रमण घटे पनि ढुक्क हुने अवस्था भने नरहेको भन्दै वीरगन्जका चिकित्सकहरुले अझै सचेत रहन आग्रह गरेका छन् । अहिले शहरको तुलनामा गाउँमा संक्रमण बढ्न थालेको उनीहरुको भनाइ छ । पर्सा जिल्लाको ग्रामीण भेगमा शहरको तुलनामा स्वास्थ्य मापदण्डको पालना कम भएकाले संक्रमण बढेको भन्दै डाक्टर उदय नारायण सिंहले विशेष ध्यान दिन सुझाव दिनुभयो । उहाँले घरधन्दा र खेतीपातीको काम गर्दा समेत मास्क लगाउन तथा भौतिक दूरीको ख्याल गर्न आग्रह गर्नुभयो । संक्रमण पुष्टि भएमा घरमै पनि सुरक्षित तरिकाले आइसोलेशनमा बस्न सकिने भन्दै उहाँले श्वासप्रश्वासमा समस्या भएमा तत्कालै नजिककै स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो ।
ग्रामीण भेगमा निषेधाज्ञाको प्रभाव शून्य
वीरगन्ज, कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बैशाख १६ गतेदेखि पर्सा जिल्लामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको प्रभाव ठोरी सहितका ग्रामीण भेगमा भने कम हुँदै गएको छ । ठोरी सहितका ग्रामीण भेगमा सार्वजनिक सवारीसाधनहरु बन्द गरिएको भएपनि निजी सवारी साधनहरु निर्वाध रुपमा चलेका छन् । ठोरी बाहेकका अन्य पालिकाका नागरिकहरु पनि बिना रोकतोक ठोरी आउने जाने गरिरहेका छन् भने भारतबाट पनि भारतीय नागरिकहरु विभिन्न कामका लागि निर्वाध रुपमा ठोरीमा आउजाउ गरिरहेका छन् । सीमावर्ती भारतीय गाँउका भारतीयहरुले ठोरीमा लगाएको लिची, कटहर, आँप लगायतका फलफुलका बगैँचा नै ठेक्का लिएर भारतमा लगेर बेच्ने गरेका छन् । अघिल्लो वर्षको लकडाउनमा भारतीयहरु आउन सकेका थिएनन् । तर यस वर्ष भने निषेधाज्ञा जारी रहेको बेला पनि लिची किन्न भन्दै भारतीय व्यापारीहरु आउने गरेको ठोरी गाउँपालिका वडा नम्बर ४ का किसान टङ्क तिमिल्सिनाले बताउनुभयो । भारतीय व्यापारीहरु सीमा नाकामा प्रहरीको आँखा छलेर आएपनि उनीहरुलाई फलफुल लैजान भने नदिइएको तिमिल्सिनाले बताउनुभयो । निषेधाज्ञामा खाद्यान्न पसलहरु बिहान ८ बजेसम्म खोल्न दिइएको भएपनि ठोरी सहितका ग्रामीण भेगमा खाद्यान्न र किरानाका पसलहरु दिनभरी नै खुलेका छन् । यस्तै लत्ताकपडा, विद्युतीय सामाग्री लगायतका अन्य पसल समेत दिनभरि नै सन्चालनमा आउने गरेका छन् । ठोरीमा रहेका ससाना मदिरा पसलहरु पनि लुकिछिपी सन्चालनमा आएको स्थानीयहरुले दाबी गरेका छन् । यसैबीच निषेधाज्ञाको कारण ठोरीमा लाग्ने सबै हाटबजार भने बन्द भएका छन । भारतीय व्यापारीको भरमा चल्ने ठोरीका सबै हाटबजार निषेधाज्ञाको कारण भारतीयहरु खुल्ला रुपमा आउन नपाएपछि बन्द भएका हुन् । ठोरीमा हाटबजार बन्द भएपछि घरघरमा डुलाएर तरकारी व्यापार गर्नेहरुको संख्या बढेको छ । जीराभवानी, जगरनाथपुर, पटेर्वा सुगौली गाउँपालिकामा भन्दा ठोरीमा हरियो तरकारीको मुल्य समेत महंगो भएको छ । टोलटोलमा साइकल र मोटरसाइकलमा राखेर हरियो तरकारीको व्यापार गर्ने व्यापारीहरुले अन्य पालिकामा भन्दा तेब्बरसम्म मुल्य लिएर बेच्ने गरेको ठोरीका स्थानीयको गुनासो छ । जीराभवानी, पटेर्वा सुगौली लगायतका गाउँपालिकामा प्रतिकेजी १० रुपैयाँसम्ममा पाइने तितेकरेलाको मुल्य ठोरीमा ३० रुपैया छ । यस्तै घिरौला, बोडी लगायतका हरियो तरकारी पनि व्यापारीले महंगो मुल्यमा बिक्री गर्ने गरेका छन । हाट बजार बन्द भएपछि बाध्य भएर महंगोमा तरकारी किन्नुपरेको ठोरी गाउँपालिका वडा नम्बर ४ का स्थानीय सुर्य श्रेष्ठले बताउनुभयो ।