निजगढ –  निजगढ नगरपालिका वडा नम्बर ९ कार्यालयले वडाभित्र अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा उनीहरूलाई घर, कोठा, फ्ल्याट वा अन्य आवास भाडामा उपलब्ध गराउने घरधनीको विवरण दर्ता गर्न आग्रह गरेको छ ।
वडा कार्यालयले आज एउटा सूचना निकालेर अन्यत्रबाट आएर निजगढ– ९ मा अस्थायी रुपमा बसोबास गर्नेहरुको विवरण अभिलेखीकरण गर्न भनेको हो । सूचनामा अन्य स्थानबाट व्यापार, व्यवसाय, अध्ययन, रोजगारी, सेवा, संघसंस्था, वित्तीय संस्था तथा अन्य प्रयोजनका लागि अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिहरूको विवरण यथाशीघ्र वडा कार्यालयमा दर्ता गराउन भनिएको छ ।

सूचनाअनुसार घर, कोठा वा फ्ल्याट भाडामा लिएर बस्दै आएका व्यक्तिहरू तथा त्यस्ता व्यक्तिलाई आवास उपलब्ध गराउने घरधनीले आफ्नो तथा भाडामा बस्ने व्यक्तिको विवरण बुझाउनुपर्ने छ ।

वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीका अनुसार कार्यालयमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको यकिन तथ्याङ्क नरहेको र सार्वजनिक सेवा प्रवाह तथा अन्य कार्यमा पनि समस्या उत्पन्न हुने गरेको छ । ‘वडामा को–को व्यक्ति कुन प्रयोजनका लागि बसोबास गरिरहेका छन् भन्ने विवरण आवश्यक छ, वडा अध्यक्ष कटुवालले भन्नुभयो, यसबाट शान्ति सुरक्षा, विपद् व्यवस्थापन, आपत्कालीन उद्धार तथा अन्य आपत्कालीन अवस्थामा पनि यसको प्रयोग गर्न सकिन्छ ।’

वडा कार्यालयका अनुसार घरधनीले आफ्नो घर, कोठा वा फ्ल्याट भाडामा लिएर बस्ने व्यक्तिको नाम, स्थायी ठेगाना, परिचयपत्रको विवरण, सम्पर्क नम्बर र बसोबासको प्रयोजन खुल्ने विवरण वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । अध्ययन, रोजगारी, व्यापार व्यवसाय वा अन्य कुनै प्रयोजनका लागि अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरूले समेत आवश्यक विवरण उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ । वडा कार्यालयले घर बहाल तथा जग्गा बहालसम्बन्धी सम्झौता सम्बन्धित पक्षहरूको उपस्थितिमा वडा अध्यक्ष तथा वडा सदस्यको रोहवरमा प्रचलित कानुनबमोजिम गर्नुपर्ने पनि जनाएको छ ।

Leave a Reply