निजगढ,नेकपा एमाले बलियो भएमात्रै देशको पनि विकास हुने पूर्वमन्त्री एंव नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले बताउनुभएको छ ।प्रेस चौतारी नेपाल बाराको शनिवार निजगढमा सम्पन्न छैठौं जिल्ला अधिवेशनको उद्धाटन सत्रमा बोल्दै प्रमुख अतिथि पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले २०५१ सालमा एमाले संसदमा सबैभन्दा ठूलो दल भएर पहिलो शक्तिको रुपमा स्थापित हुँदा देश र जनताको लागि धेरै महत्वपूर्ण र उपलब्धीमूलक काम भएको चर्चा गर्दै देश विकासको लागि फेरि पनि एमाले बलियो पहिलो शक्ति हुन जरुरी रहेको बताउनुभयो ।
एमालेलाई बलियो बनाउन कार्यकर्ताहरुको सबैभन्दा महत्वपूर्ण भूमिका हुने पनि उहाँले बताउनुभयो । निर्वाचनमा एक्लै बहुमत प्राप्त गर्न एमालेलाई ४० लाख मतदाताको मत आवश्यक पर्ने बताउदै उहाँले यसको लागि कार्यकर्तामा क्रियाशीलता आवश्यक भएकोमा पनि जोड दिनुभयो । ‘एमाले फेरि पनि संसदमा पहिलो र बलियो शक्ति बन्छ, उहाँले भन्नुभयो, यसको लागि कार्यकर्ताहरुबीच एकता र प्रतिबद्धताको खाचो छ ।’ पार्टीलाई लोकप्रिय र भरोसा योग्य बनाउन कार्यकर्ताहरुले व्यक्तिगत लाभ र आग्रह पूर्वाग्रह त्यागेर जनताको पक्षमा काम गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ज्वाला साह, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, बारा जिल्ला कमिटी अध्यक्ष अध्यानन्द पाण्डे, मधेस प्रदेश कमिटी सदस्य एवंम प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रेस चौतारी केन्द्रीय सचिव कमल उपाध्याय, बारा जिल्ला इन्चार्ज अच्युत पौडेल, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति अध्यक्ष श्याम बन्जारा, कोषाध्यक्ष अनिल गौरवलगायतले अधिवेशन सफलताको लागि शुभकामना दिनुभएको थियो ।चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सहसचिव इन्दिप कोइरालाले गर्नुभएको थियो ।यसैबीच थानेश्वर सापकोटाको अध्यक्षतामा अधिवेशनको बन्द सत्रले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्ष जिउतप्रसाद यादव, उपाध्यक्ष (महिला) निलिसा बर्मा, सचिव श्याम गुप्ता, सहसचिव धिरेन्द्र तिवारी, सहसचिव (समावेशी) बुधन चौधरी, कोषाध्यक्ष प्रलाद तिमिल्सिना सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यमा विपिन अधिकारी, विशाल तिमल्सिना, तुलसा घिमिरे, मनोज उपाध्याय, मनोज साह, भवानी सुवेदी, प्रवेश चौधरी, रोशन गुप्ता, अनिलप्रित चौधरी, अजित कोइराला, सुशीला रेग्मी, भोला पौडेल, इन्दिरा चौधरी, आदित्य मिश्र चयन हुनुभएको छ ।त्यसैगरी केन्द्रीय प्रतिनिधिमा गोकुल घोरसाइने, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, सहसचिव इन्दीप कोइराला र निलिसा बर्मा चयन हुनुभएको छ । त्यस्तै मधेस प्रदेश प्रतिनिधिमा दिवाकर भण्डारी, राधेश्याम पटेल, शम्भुप्रसाद महतो र तुलसा घिमिरे चुनिनुभएको छ ।



















