कलैया,नेपाली कांग्रेस पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरले नेपाल तरुण दलका केन्द्रीय सदस्य महमद नौसाद आलमलाई सार्वजनिक रूपमा धक्का दिएको भिडियो भाइरल भएको छ ।पूर्वमन्त्री, पूर्वसांसद तथा पार्टीका बारा जिल्ला पार्टी सभापतिसमेत रहिसक्नुभएका पाको उमेरका मन्सुरले आफ्नै भ्रातृ संगठनका केन्द्रीय सदस्यलाई सयौं मानिसको बीचमा धक्का दिएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो ।
घटना विवरण अनुसार बुधवार बारा क्षेत्र नम्बर ३ ले बडहरवामा आयोजना गरेको नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न कांग्रेस महामन्त्री गगन थापा आउनुभएको थियो । महामन्त्री थापालाई स्वागत गर्न बारा, पर्सा, रौतहटका कांग्रेस पार्टीका सयौं नेता–कार्यकर्ता सिमरा एयरपोर्ट पुगेका थिए । सोही क्रममा बिहान साढे ९ बजे सिमरा एयरपोर्ट पुग्नुभएका महामन्त्री गगन थापालाई नेता–कार्यकर्तासँग केही समय पैदल हिँड्नुभएको थियो ।
सोही क्रममा पार्टीका नेता–कार्यकर्ताहरू महामन्त्री थापासँग फोटो खिच्न झुम्मिएका थिए । सोही समयमा नेपाल तरुण दलका केन्द्रीय सदस्य रौतहट घर भएका महमद नौसाद आलम मन्सुरभन्दा अगाडि बढेर हिँड्दै सेल्फी खिच्न खोज्दा पछाडि परेका मन्सुरले धक्का दिएर साइड लगाउनुभएको थियो ।
दर्जनौं मानिसले महामन्त्री थापाको फोटो खिचिरहेको समय सहमहामन्त्री मन्सुरले गरेको गलत कार्यको भिडियो कैयौं नेता–कार्यकर्ताको मोबाइलमा कैद भएको थियो । अहिले त्यही भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड भएसँगै मन्सुरको चौतर्फी आलोचना हुन थालेको छ ।तरुण दलका केन्द्रीय सदस्य नौसाद आलमले उक्त घटनाप्रति आफूले खासै चासो नदिएको बताउदै फरमुल्लाहा जस्तो पार्टीको जिम्मेवार नेताले त्यस्तो व्यवहार गर्नु अशोभनीय भएको बताउनुभएको छ ।


















