निजगढ,निजगढ नगरपालिका नगर कार्यपालिकाले स्वर्गीय प्रशिक्षार्थी फुटबल खेलाडी विकल रेग्मीको स्मृतिमा आगामी वैशाख २२ गतेदेखि ‘प्रथम विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता’ संचालन गर्नेभएको छ ।निजगढ नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले एउटा सूचना जारी गरेर प्रतियोगिता बारे जानकारी दिनुभएको हो । सूचनामा नगरपालिकाका प्रतेक वडाबाट १६ वर्षमुनिका किशोरहरुको एउटा÷एउटा टोलीलाई सहभागी गराइने र सोको लागि इच्छुक खेलाडीहरूले यही वैशाख १५ गतेसम्म फाराम भरी प्रतियोगिता संचालक समितिमा पेश गर्नुपर्ने भनिएको छ ।

नगर खेलकुद विकास समितिको गत चैत्र १३ गतेको बैठकको निर्णायानुसार नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटवल क्लब, निजगढ– ९ को व्यवस्थापनमा सहिद हिरालाल रंगशालामा प्रतियोगिता संचालन हुनलागेको हो ।अखिल नेपाल फुटबल संघले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरेको आवासीय एकेडेमीमा पढ्दै र फुटबल खेल सिक्दै गरेका प्रशिक्षार्थी खेलाडी निजगढका १४ वर्षिय विकलसहित ६ जनाको गत असोज महिनामा सिस्नेरी खोला पहिरोमा परी ज्यान गएको थियो ।

उनी निजगढ नगरपालिका– ८ खयरघारी निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा हुन् । निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले स्वर्गीय रेग्मीको विकलको अन्त्यष्टि कार्यक्रममा बोल्दै उनको स्मृतिमा नगरपालिकाले हरेक वर्ष जुनियर फुटबल प्रतियोगिता संचालन गर्ने घोषणा गर्नुभएको थियो । नगर प्रमुख पुरीको सोही घोषणाअनुसार प्रतियोगिता हुन लागेको हो ।

Leave a Reply