वीरगञ्ज,प्रहरीले बिरामी झुक्याएर लागुऔषध काठमाडौं भित्र्याउने प्रयासमा रहेका ४ जना भारतीय नागरिकलाई एम्बुलेन्ससहित पक्राउ गरेको छ ।शनिवार राति करिब २ बजेतिर ललितपुरको बागमती गाउँपालिका– ३, छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ प ०४२१ भएको एम्बुलेन्स शंकास्पद देखिएपछि जाँच गर्दा उक्त व्यक्तिहरू लागुऔषधसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतका २० वर्षीय समिर आलम, ३३ वर्षीय मुन्ना अन्सारी, र ४५ वर्षीया नोर्जान खातुन रहेका छन्। घटनासँग जोडिएका एम्बुलेन्स चालक मोहम्मद उमर भने प्रारम्भमा फरार भए पनि शनिबार बिहान घटनास्थलभन्दा झण्डै १ किलोमिटर टाढाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरूले एक नेपाली व्यक्तिको लागि उक्त भारी मात्राको लागुऔषध ल्याउने योजना बनाएका थिए। उनीहरूले आफू बिरामी देखाएर लागुऔषध ट्रामाडोल काठमाडौं ल्याउने प्रयास गरेका थिए । तर ती लागुऔषध कसका लागि ल्याइएको भन्ने व्यक्ति फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भट्टेडाँडाबाट प्रहरी सहायक निरीक्षक श्रीराम सिंहको नेतृत्वमा खटिएको टोलीले एम्बुलेन्सभित्र लुकाएर राखिएको ९३ हजार ८०० क्याप्सुल बराबरको ट्रामाडोल बरामद गरेको हो । घटनास्थल प्रहरी चौकीबाट करिब १ किलोमिटर पूर्व पर्छ ।प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको जनाएको छ ।


















