राममन्दिरमा भक्तजनको घुइँचो काठमाडौँ, २४ चैतः चैते दसैँको रामनवमीको अवसरमा बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिरमा पूजाआजा गर्न भक्तजनको घुइँचो।तस्बिरः गोपाल दाहाल÷रासस

निजगढ,रामनवमी पर्वका अवसरमा आइतवार निजगढका विभिन्न राम मन्दिरमा भक्तजनहरुले भजनकिर्तन र रामकथा श्रवण गरेका छन ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । आइतवार निजगढ ९ को जमुना पैनीस्थित श्रीरामजानकी मन्दिर, निजगढ ५ शान्तिटोल र निजगढ ६ को भमराटोलमा रहेको रामजानकी मन्दिरमा भजनकिर्तनसहित राम कथा वाचन लगायत विभिन्न धार्मिक अनुष्ठान गरिएको थियो ।

रामनवमी पर्वकै अवसरमा निजगढ ९ राजजानकी मन्दिरले गत चैत्र १५ गतेदेखि आयोजना गरेको रामकथा वाचनको पनि आइतवार नै पूर्णहुति गरिएको छ । मन्दिरको सर्वाङ्गीण विकासका लागि निजगढका धार्मिक स्थल बचाऔँँ अभियानकर्ता आचार्य श्रीअभिषेक ओझाले रामकथा वाचन गर्नुभएको थियो ।त्यसैगरी जनकपुरधाम, काठमाण्डौं र देशभरका अन्य राम मन्दिरमा पनि हिजो बिहानैदेखि भक्तजनको भीड लागेको थियो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

त्रेतायुगमा हिजोकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
चैत र असोजको नवरात्रलाई जाग्रत दशैंका रूपमा महत्त्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ ।मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि सोमवार मेला लागेको छ । यो मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन् । रामनवमीको अवसरमा सरकारले आइतवार सार्वजनिक बिदा दिएको थियो ।

Leave a Reply