रौतहट,रौतहट उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष रवीन्द्रनाथ गोपाली नेतृत्वको प्यानलले सबै पदमा जित हात पारेको छ ।संघको अध्यक्ष पदमा गोपाली सर्वसम्मत चयन भएपनि सदस्य पदका लागि भएको मतदानमा गोपाली प्यानलका उम्मेदवारहरूले विजय हासिल गरेका हुन ।
शनिवार सम्पन्न निर्वाचनमा कुल ७३८ मत खसेको थियो । सदस्य पदका उम्मेदवार सन्तोष केशरी सबैभन्दा धेरै ५३७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।अन्य विजयी उम्मेदवारहरूमा रितेश अग्रवालले ५०६, चन्द्रप्रकाश अग्रवाल ४९६, विनोद कुमार ४९४, राजु जयसवाल ४८१, सुनिल जयसवाल ४७७, भैरव साह ४७२, मनोज कुसवाहा ४६९, विजय कुशवाहा ४०२, दिपेन्द्र झा ३८८ र अभिमन्यु गुप्ता ३८५ मत प्राप्त गर्दै संघको सदस्य पदमा निर्वाचित भएका छन् ।
संघको नेतृत्वका लागि प्रारम्भिक चरणमा अध्यक्ष पदमा सर्वसम्मत सहमति जुटे पनि ११ सदस्यीय संघमा सहमति नजुटेपछि शनीवार मतदान भएको थियो । शनीवार राति अबेर सम्पन्न मत गणनाको परिणाम अनुसार ११ सदस्य पदमा गोपाली प्यानलका उम्मेदवारहरु विजयी भएको प्रमुख निर्वाचन संयोजक वृजकिशोर यादवले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा निर्वाचित भएपछि गोपालीले संघलाई उद्योगी–व्यवसायीको सशक्त मञ्चका रूपमा अगाडि बढाउने र स्थानीय व्यवसाय प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।


















