निजगढ, १७ फागुन

जंगली हात्तीको अक्रमणबाट टाँगियाबस्तिमा बुधवार एकजनाको ज्यान गएको छ । जंगलबाट पसेको हात्तीको आक्रमणबाट जीतपुरसिमरा वडा नम्बर १६ टाँगियाबस्तिका ४५ वर्षिय गापाङ्गबहादुर दर्लामी मगरको मृत्यु भएको हो ।
जंगलमा घाँस दाउरा गर्न भनेर घरबाट निस्किन लागेका मगरलाई दिउसो करिव २ बजे हात्तीले आक्रमण गरेको स्थानीय रमेश सापकोटाले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट मगरको टाउको फुटेको र कम्मर भाँच्चिएको थियो । हात्तीले आक्रमण गर्न थालेपछि छिमेकीहरु भने घर छोडेर अन्यत्र भागेका थिए । मगरको ज्यान लिएलगत्तै सो हात्ती फेरि जंगलतर्फ नै पसेको स्थानीयले बताएका छन । तर रात परेपछि हात्ती आएर किसानले खेतमा रोपको केरा खान थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताउनुभयो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले पनि हात्तीको आक्रमणबाट दर्लामीको ज्यान गएको बताउनुभयो । उहाँले सो हात्तीले ३ दिनदेखि जिल्लाका विभिन्न बस्तिमा गएर उपद्रो मच्चाउदै आएको जानकारी पनि दिनुभयो । उहाँकाअनुसार रौतहट जिल्लाको वन क्षेत्रबाट ३ दिनअघि बारामा प्रवेश गरेको सो हात्तीले मंगलवार साँझ कलैया उपमहानगरपालिकाको ब्रह्मपुरी र धर्मनगर गाउँमा देखापरेको र स्थानीयले खबर गरेपछि कार्यालयबाट पुगेको वन सुरक्षाकर्मीले गाउँबाट जंगलतर्फ भगाएको पनि उहाँले बताउनुभयो । कलैयाकै सिसवा महेशपुरमा निस्किएको सो हात्तीलाई बुधवार बिहान पनि स्थानीयले जंगलतर्फ नै धपाएका थिए

‘हात्ती जंगलतर्फ गएको खबर सुनेपछि ढुक्क भएका थियौं, डिएफओ सिंहले भन्नुभयो, तर दिउसो टाँगियाबस्तिमा दुखद घटना भएछ ।’

गत महिना मकवानपुरको मनहरीमा एक जना महिलाको ज्यान लिने ‘यमगज’ नामको हात्तीले नै बारामा पनि आतङ्क मच्याउदै आएकोे पनि उहाँले जानकारी दिनुभयो । डिएफओ सिंहले वन सुरक्षाकर्मीले सो हात्तीको ३÷४ दिनदेखि निगरानी गरेको र सर्तक रहन स्थानीय एफएम रेडियोमार्फत सर्वसाधारणलाई सूचना प्रशारण गर्दै आएको पनि बताउनुभयो ।
एकसाताअघि पनि बाराको जंगलमा देखापरेको सो हात्ती ३ दिन अघिमात्रै रौतहटबाट फेरि फर्किएर जिल्लाको वनमा आएको पनि उहाँले बताउनुभयो । कुनै खास कारणमा बथानबाट लखेटिएपछि बिछिप्त बनेको सो हात्ती मानवबस्तिमा पसेर जथाभावी आक्रमण गरेको हुनसक्ने उहाँको भनाइ छ । समुहमा अन्य सदस्यलाई मन नपर्ने काम गर्ने हात्ती बथानबाट लखेटिने गर्छ । ‘त्यसले कुनै बिगो गरेको थियो होला र बथानबाट खेदियो, उहाँले भन्नुभयो, यस्तो अवस्थामा एक्लिएको हात्ती बस्तिमा पसेर आक्रमण गर्ने गर्छ ।’

हात्ती आक्रमणको खबर पाएपछि वन कार्यालय र इलाका प्रहरी कार्यालय कोल्हबीबाट सुरक्षाकर्मीको टोली बस्तिमा पुगेको थियो । दलार्मीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ ।

Leave a Reply