कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा घण्टाघर निर्माण हुने भएको छ । वीरगञ्ज महानगरपालिकापछि जिल्लाको ग्रामीण क्षेत्रमा पहिलोपटक ठोरीमा घण्टाघर निर्माण हुन लागेको हो । ठोरी गाउँपालिका वडा नम्बर ४ को बिजयबस्ती चोकमा निर्माण हुन लागेको घण्टघरको शनिवार शिलान्यास गरिएको छ ।
ठोरी गापाको चालु आर्थिक वर्षमा विनियोजित ६४ लाख ९८ हजार लागतमा निर्माण हुन लागेको सो घण्टाघरको शनिवार गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको उपस्थितिमा वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर थिङ्ले शिलान्यास गर्नुभएको थियो । घण्टाघर निर्माणको ठेक्का प्रकाश निर्माण सेवाले सकारेको छ । घण्टाघरको निर्माण चालु आर्थिक वर्षमा नै सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिइएको गापा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, नेकपा एमाले ठोरी गाउँपालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ लगायत स्थानीयबासिन्दाको उपस्थिति रहेको थियो ।

















