कलैया,जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट ल्याइएको ठूलो परिमाणको अबैध सामान बोकेको ३ वटा ट्रक सामानसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याइएका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको तीन वटा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बिल बिजकभन्दा फरक सामान भेटाएपछि ट्रक नियन्त्रणमा लिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रोकिराखिएको ना ४ ख ८८७५ नम्बरको ट्रकबाट बुधवार राति करिब पौने १० बजे किराना सामान, नरिवल लगायत हार्डवेयरका तथा अन्य खुद्रा समानहरू बरामद गरिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी ३३ लाख ३२ हजार २ सय २६ रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।त्यसैगरी, राति करिब साढे ११ बजे वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा लोड गरिएको सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लेडिज सुट, ग्लास प्रेम समिति, वाटरग्रुपप्रुफ ग्लु लगायतका सामाग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो । बरामद सामग्रीलाई करिब २८ लाख ९५ हजार ७१३ रुपैयाँ मूल्याङ्कन गरिएको छ ।
त्यसैगरी सोही राति नै करिब ११ बजेर ५० मिनेटमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौकबाट प्रहरीले अर्काे ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बा ट्रकमा लोड गरिएको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पूजा सामग्री लगायतका खुद्रा तथा किराना सामान बरामद गरिएको सापकोटाले जानकारी दिनुभयो । उक्त ट्रकबाट करिब ६६ लाख ९० हजार १३१ रुपैयाँ बराबरको अबैध सामान फेला परेको छ । तीन वटै ट्रकबाट बरामद भएको करिब एक करोड २९ लाख रुपैयाँ बराबरको सामान र ट्रकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।



















