वीरगञ्ज,पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा व्याप्त अनियमितता, भ्रष्टाचार र बिचौलियाको प्रभाव निष्तेज पार्न नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।सरकारी कार्यालयमा हुने बेथितिको विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउदै तत्काल सुधार नभएमा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

एमाले वीरगञ्ज महानगरले यातायात व्यवस्था, मालपोत, नापी, भन्सार, विद्युत प्राधिकरणलगायत दर्जनौं कार्यालयमा बिचौलियाबिना कुनै सेवा नपाइने अवस्था भएको आरोप लगाएको छ । जनतालाई दैनिक कामका लागि कार्यालय धाउनुपरेको छ, तर पैसा र प्रभावबिना सेवा पाउन गाह्रो भएको छ, अध्यक्ष नवराज शर्माले हस्ताक्षरण गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै, विकास निर्माणको गुणस्तर खस्किएको, अनुगमन नहुने, कमिसनको खेल मौलाएकोभन्दै नियन्त्रण गर्ने संयन्त्र नै कमजोर भएको उल्लेख गरिएको छ । स्थानीय तहको कमजोरीप्रति पनि एमाले महानगर कमिटीले गुनासो गरेको छ । “भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाई पर्साका सरकारी कार्यालयमा चुनौती बनेको छ ।’ विज्ञप्तिमा भनिएको छ।एमालेले यस्तो अवस्थालाई किमार्थ स्वीकार्य नहुने स्पष्ट गर्दै आवश्यक सुधार नभए सशक्त आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।

Leave a Reply