दुष्यन्त चौधरी

बारा,तोकिएको समयमभित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारको नाम निर्वाचन आयोगले जरिवानासहित सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनु पर्ने भएपनि वेवास्था गर्ने जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको नामावली अनुसार बाराका १६ स्थानीय तहमा निर्वाचित ३२ मध्ये २६ जना प्रमुख र उपप्रमुखले जरिवाना तिर्नुपर्ने देखिएको छ । जिल्लाका दुई उपमहानगरपालिका, तीन नगरपालिका र सात गाँउपालिकाकाका प्रमुख र उपप्रमुख जरिवानामा परेका छन् ।जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, कलैया उपमहानगरका नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन परविनलाई जनही पाँच लाख ५० हजार जरिवाना तोकिएको छ । यसैगरी जिल्लाको पाँच नगरपालिकामध्ये तीन नगरपालिकाका प्रमुख र उपप्रमुख पनि जरिवानामा परेका छन् । आयोगका अनुसार महागढीमाई नगरपालिकाका नगर प्रमुख र उपप्रमुख, निजगढ नगरपालिकाका नगर प्रमुख र उपप्रमुख, पचरौता नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

जिल्लामा भित्रका दुई नगरपालिका कोल्हबी र सिम्रौनगढका नगर प्रमुख र उपप्रमुखले निर्वाचन खर्च विवरण समयमै बुझाएको देखिएको छ ।

यसैगरी जिल्लास्थित नौ गाँउपालिकामध्ये सात गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले जनही तीन लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ । आयोगका अनुसार आदर्शकोतवाल, बारागढी, सुवर्ण, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुरका अध्यक्ष र उपाध्यक्षले खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवानाको सूचिमा राखेको छ ।

यसैबीच निर्वाचन आयोगले तोकेको जरिवाना नतिर्दा त्यस्ता उम्मेदवारले आगामी ६ वर्षसम्म चुनावमा सहभागी हुन पाउने छैनन् । आयोगले जारी गरेको विज्ञप्तिमा जरिवानावापतको रकम नबुझाउने उम्मेदवारलाई कुनै पनि निर्वाचनमा सहभागी हुन नपाउने गरी ६ वर्षका लागि रोक लगाउने र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ बमोजिम असुल उपर गर्ने जनाएको छ । आयोगले जरिवाना नतिरेका उम्मेदवारको सूचि सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत तथा नापी कार्यालयमा समेत पठाउने तयारी गरेको छ ।

Leave a Reply