सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७जीतपुर बजारमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जीतपुरस्थित मुस्कान सप्लायर्स एण्ड फ्रेश हाउसका सञ्चालक जीतपुरसिमरा उपमहानगरपालिका–७ का मिश्री देवानलाई सोमवार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) जोजन कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले देवान बाख्राको मासुमा खसीको अण्डकोष राखेर मासु बिक्री गरिहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो। देवानले काटेर पसलमा झुण्ड्याको सिङ्गो बाख्राको टाङ्गमा खसीको अण्डकोष सुपरग्लुले टाँसेर खसीको मूल्यमा बाख्राको मासु बेच्दैआएका थिए ।
जीतपुरसिमरास्थित त्रिभुवन राजपथमा जारी ट्राफिक सप्ताह कार्यक्रमको क्रममा सई कार्कीलाई उपभोक्ताहरूले देवानले मासुमा मिलावट गरिरहेको जानकारी गराएपछि प्रहरी टोलीले छापा मारेको थियो।प्रहरीका अनुसार देवानले बाख्राको मासुमा खसीको अण्डकोष फेवीकल (टाँस्ने पदार्थ) ले टाँसेर खसीको मासुभन्दै उपभोक्ताहरुलाई बाख्राको मासु बिक्री गर्दै आएका थिए।

पसल निरीक्षणको क्रममा खसीको जस्तै देखाएर बाख्राको मासु बिक्री गरेको पाइएपछि प्रहरीले उक्त मासुसहित देवानलाई नियन्त्रणमा लिएको हो । यसक्रममा देवानले प्रहरीलाई प्रलोभनमा पार्ने र प्रतिरोध गर्ने प्रयास समेत गरेका थिए ।
यसअघि पनि मुस्कान फ्रेश हाउसमा प्रहरीको पटक–पटक छापामारी गरेको भएपनि देवानको ठगी धन्दामा कुनै सुधार नआएको प्रहरीले जनाएको छ।यसअघि गत महीना खसीको मासुभन्दै बाख्राको मासु बेचेको गुनासोको आधारमा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको टोली उनलाई नियन्त्रणमा लिएपछि बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले संसद बैठकमा नै देवानको संरक्षणमा प्रजिअ अधिकारीको चर्को विरोध गर्नुभएको थियो ।

Leave a Reply