वीरगञ्ज,वीरगञ्जको बाल सुधार गृहमा रहेका बालबालिकाहरूको हितलाई ध्यानमा राखेर १३ बुँदे सुधार योजना तयार पारिएको छ ।पर्सा जिल्ला प्रशासन कार्यालयमा बुधवार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले बाल सुधार गृहको अवस्थालाई सुधार्दै बालबालिकाहरूलाई सुरक्षित, सहज र स्वास्थ्यकर वातावरण उपलब्ध गराउन १३ बुँदे सुधार योजना तयार पारी सोको कार्यान्वयको लागि प्रतिबद्धता जनाइएको छ ।

बैठकले बाल सुधार गृहमा मर्मत सम्भार र पूर्वाधार विकासमा विशेष जोड दिएको छ । आगामी एक हप्ताभित्र सुधार गृह परिसरमा मर्मत गर्नुपर्ने संरचना र सामग्रीहरूको मर्मत कार्य सम्पन्न गरिने निर्णय गरिएको छ । यसैगरी,बालबालिकाहरूलाई इन्टरनेट सुविधा दिन वाईफाई जडान गर्ने तथा ल्यापटप र कम्प्युटरहरूको मर्मत सम्भारको व्यवस्था मिलाइने भएको छ ।
बालबालिकाहरूको मानसिक स्वास्थ्य सुधारका लागि हप्तामा एक पटक अनिवार्य रूपमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाइनेछ । गर्मी मौसमलाई मध्यनजर गर्दै पङ्खा र खानेपानीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले गर्नेछ भने क्षयरोगबाट सङ्क्रमित बालकको उपचारका लागि वीरगञ्ज महानगरपालिकासँग समन्वय गरी समाधान गरिनेछ ।
बाल सुधार गृहमा रहेका बन्दीहरूको सुविधाबापतको रकम समयमै भुक्तानी गर्न आवश्यक विवरण कारागार कार्यालयमा पेस गर्ने व्यवस्था मिलाइनेछ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले बालबालिकाहरूको शिक्षालाई निरन्तरता दिन पाठ्यपुस्तक र सन्दर्भ सामग्री उपलब्ध गराउने भएको छ ।
त्यसैगरी बाल सुधार गृहमा पुस्तकालयको स्थापना गरी अध्ययनशील बालबालिकाहरूका लागि तहगत शिक्षकको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने निर्णय भएको छ ।खानेपानीको समस्या समाधानका लागि बाल सुधार गृह परिसर नजिकै रहेको डिप बोरिङबाट पाइप जडान गरी नियमित रूपमा पानी आपूर्ति गरिनेछ । रातको समयमा बत्ती जाने समस्यालाई समाधान गर्न वैकल्पिक ऊर्जाको व्यवस्थापनका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई अनुरोध गरिने भएको छ ।


















