धिरेन्द्र तिवारी

कलैया,कलैयास्थित प्रादेशिक आस्पतालमा बारा क्षेत्र नम्बर ३ बाट हालै प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्वालाकुमारी साह र प्रदेश सभा सदस्यको टोलीले आइतवार छडके अनुगमन गरेको छ ।
अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो बढेपछि प्रतिनिधि सभा सदस्य साहसहित क्षेत्र नम्बर ३ ‘१’ मधेस प्रदेश सभा सदस्य रविन्द्र श्रेष्ठ र प्रदेश सभा ‘२’ का प्रदेश सभा सदस्य महम्द समिरको टोलीले अस्पतालको अनुगमन गरेको हो । टोलीले अस्पतालको ईमर्जेन्सी, ओपिडी र एक्सरे वाड तथा ल्याब र प्रसुति कक्षको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा स्टोरमा बिरामीको खाना, नास्ताको प्रवन्ध राम्रो नभएको, अस्पतालको जीप, मोटरसाईकल, एम्बुलेन्सको सही सदुपयोग नगरिएको र फार्मेसीमा रहेका औषधिको तथ्याङ्ग यकिन नभएको तथा बिरामीले पर्याप्त औषधि नपाएको जस्ता समस्या देखिएको प्रदेश सभा सदस्य समिरले बताउनुभयो । टोली समक्ष बिरामीका कुरुवा र सेवाग्राहीहरुले अस्पतालका स्वास्थ्यकर्मीहरुले एक्सरे र भिडियो एक्सरे गर्न निजी क्लिनिकमा पठाउने गरेको गुनासो समेत राखेका थिए ।
अनुगमनपछि प्रतिनिधि सभा सदस्य साह र प्रदेश सभा सदस्यद्वय श्रेष्ठ तथा समीरले अस्पतालमा विद्यमान कमीकमजोरी सुधार गरेर सेवा थप प्रभावकारी पार्न अस्पतालका मेडिकल सुपरिटेन्ट सुनिल जैसवाललाई निर्देशन दिएका थिए ।
अनुगमनमा कलैया उपमहानगरपालिका कार्यालयपालिकाका सदस्य राजेश्वर सिंह, अशोक तिवारी, जीउत यादव, सदाम अन्सारी, कुलदिप ठाकुर, अनिल कुशवाहा र अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश चौगाई तथा सदस्य शेषनाथ कुशवाहा एंव अस्पतालकका मेडिकल सुपरिटेन्डेन्ट सुनिल जैसवाललगायत स्थानीय संचारकर्मीको पनि सहभागिता थियोे ।



















