वीरगञ्ज,सरकारले आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बारा र पर्सा जिल्लामा आइतवार छुट्टाछुट्टै विरोध प्रदशन गरेको छ ।राप्रपाले कलैयामा मसाल जुलुस र वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो ।
कलैयास्थित पार्टीको जिल्ला कार्यालयबाट सुरु भएको मसाल जुलुस भरतचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा राप्रपा सहममन्त्री मोहन यादव, प्रदेश उपाध्यक्ष भरत मल्ल, जिल्ला अध्यक्ष गिरिधारीप्रसाद चौधरी तथा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले सम्बोधन गरेका थिए ।

सरकारले पक्राउ गरेका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराको रिहाइको लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शनिवार दिएको २४ घण्टे अल्टिमेटमको माग पुरा नभएपछि देशैभरि मसाल जुलुस निकालेको राप्रपा निजगढ नगर अध्यक्ष उप्रेतीले बताउनुभयो ।त्यसैगरी वीरगञ्जमा पनि आइतवार राजतन्त्रको पक्षमा ¥याली आयोजना गरिएको छ । नेपाल राष्ट्रवादी सङ्घको नेतृत्वमा भएको ¥यालीका सहभागीहरु राजतन्त्रको पुनस्र्थापनाको माग गर्दैै शहरको विभिन्न भागहरूमा परिक्रमा गरेका थिए ।

वीरगञ्जको घण्टाघरबाट सुरु भएको ¥यालीमा सहभागीहरूले “राजा आऊ देश बचाउ”, “सङ्घीयता खारेज गर”, “हिन्दु राष्ट्र कायम गर” र “नेता चोर, देश छोड” जस्ता नाराहरू लगाएका थिए । माइस्थान, आदर्शनगर, अलखिया मठ, घडिअर्वा लगायतका क्षेत्रहरूको परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्ने क्रममा नेपाल राष्ट्रवादी सङ्घका अध्यक्ष जनकलाल साहले शुक्रवार काठमाडौँमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा भएको क्षति र अशान्तिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्नुभयो । सरकारले राजावादी आन्दोलनलाई कमजोर पार्न आफ्ना घुसपैठियाहरूलाई प्रदर्शनमा पठाएर अराजकता फैलाएको उहाँको भनाई छ । साथै, उहाँले आन्दोलनका क्रममा पक्राउ परेका सबै राजावादी समर्थकहरूलाई बिना सर्त तत्काल रिहा गर्नुपर्ने माग पनि गर्नुभएको छ ।अध्यक्ष साहले सरकारलाई कडा चेतावनी दिँदै भन्नुभयो, “यदि हाम्रा मागहरू पूरा गरिएनन् र पक्राउ परेका आन्दोलनकारीहरूलाई रिहा गरिएन भने हामी देशभर आन्दोलनलाई अझ सशक्त र कडा बनाउन बाध्य हुनेछौँ ।” उहाँले राजतन्त्रको पुनस्र्थापना, हिन्दु राष्ट्रको घोषणा र सङ्घीयताको खारेजी नै देशको वर्तमान सङ्कटको समाधान भएको दाबी गर्नुभयो ।

Leave a Reply