हेटौडा,बन्द भएको २५ वर्षपछि हेटौँडा– काठमाडौँ रोपवे सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्यक्रममा समेटेको छ । मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताउनुभयो ।
रोपवे सञ्चालनमा ल्याउन राजनीतिक पार्टीहरूले आफ्नो चुनावी एजेन्डा बनाउँदै आएका छन् । २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावका लागि नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा यो रोपवे सञ्चालन गरिने विषय समेटेको छ । काठमाडौँ– हेटौँडा ४२ किमी लामो यो रोपवे वि.सं. १९८२ सालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण गरिएको थियो । मकवानपुरको भीमफेदी नजिकै धोर्सिङबाट मातातीर्थसम्म लाइन निर्माण गरिएको सो रोपवे १९९२ सालमा जुद्धशमशेरले टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए । प्रतिघण्टा २२ देखि २५ टन बोक्ने क्षमता रहेको यो रोपवेले चार घण्टामै हेटौँडाको सामान काठमाडौँ पुर्याउने गरेको थियो ।
तर २०११ सालको बाढीले क्षति भएपछि बन्द भएको रोपवे पुनः सञ्चालनमा ल्याउन अमेरिकी सरकारको सहयोगमा ६४ लाख डलर खर्च गरेर मर्मत गरिएको थियो ।सुरुमा यस रोपवेमा ३६० वटा डिब्बा सामान ओसार्न प्रयोग गरिएको थियो भने २०५५ सालमा १६० वटा डिब्बा प्रयोग भएका थिए । यसपछि २०५६ सालमा पूर्ण रूपमा बन्द भएपछि २०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रोपवे खारेजी गर्ने निर्णय गर्नुभएको थियो ।
















