महोत्तरी,गौशाला नगरपालिका– १२ पररियास्थित निर्माणाधीन इनारमा काम गर्ने क्रममा निसास्सिएर एक युवकको मृत्यु भएको घटनामा वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरिएको छ ।सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ निवासी चन्द्रप्रकाश महतोले लापरवाहीका कारण आफ्ना २१ वर्षीय छोरा बसन्तकुमार कुशवाहाको मृत्यु भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिनुभएको हो ।

जाहेरीअनुसार निर्माणाधीन इनारभित्र रुखको जरा काट्ने क्रममा प्रयोग गरिएको मेसिनबाट निस्किएको धुवाँका कारण निसास्सिएर कुशवाहाको ज्यान गएको थियो । पीडित परिवारले गौशाला नगरपालिका– १२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको छ ।परिवारले इनारभित्रको जोखिमबारे जानकारी हुँदाहुँदै पर्याप्त सुरक्षा सतर्कता नअपनाई काममा लगाइएको तथा गम्भीर लापरवाहीका कारण युवकको ज्यान गएको आरोप लगाएको छ ।इलाका प्रहरी कार्यालय गौशालाले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

Leave a Reply