नेपालको राजनीति अहिले सुनकाण्ड, शरणार्थी काण्ड तथा ललिता निवास काण्डले निकै तातेको छ ।यी काण्डहरुमा परेर केही तथाकथित ठूला भनिएका व्यक्तिहरु पनि अहिले जेलको हावा खादैछन् । अन्य प्रकरणमा जस्तै एक सय किलो सुन प्रकरणले पनि नेपालको राजनीति निक्कै तताएको छ ।प्रतिपक्ष एमालेले यही कारण देखाएर सदन अवरुद्ध गरिरहेको छ भने काँग्रेस र माओवादी लगायतका दलहरुको आआफ्नै तर्क छन् । माओवादीले सरकारको नेतृत्व गरिरहेकाले पनि उसले सुन तस्करीसंग जोडिएका व्यक्तिहरुलाई जोगाउन खोजेको आरोप एमालेको छ । तर, प्रतिपक्षले लगाउने आरोपमात्रै नभएर सुनकाण्डमा माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको जोडिएर आएको छ ।सुन तस्करमा संलग्न चिनीया व्यापारीसंग पटकपटक फोन सम्बाद गरेको तथ्य सार्वजनिक भएपछि यो प्रकरणमा महारा बाबुछोरा शंकाको घरमा परेका हुन । नेपालका मुख्य संचारमाध्यामहरुले सुन तस्करहरुसंग महरा बाबुछोराको सांगगाँठ रहेको तथ्य बाहिर ल्याइसेका छन । तर यो प्रकरणमा दर्जनौं व्यक्ति पक्राउ परिसक्दा पनि उनीहरु पक्राउ नपर्नुले माओवादीले सत्ताको दुरुपयोग गरेर महरा बावुछोरालाई उन्मुक्ति दिइरहेको छ भन्ने आरोप लागेको छ ।त्यसैले माओवादीले महरा बावुछोराको विषयमा लिन खोजेको नीति के हो स्पष्ट पार्नु पर्दछ । सत्ताको आडमा यदि माओवादीले महरा बाबुछोरालाई जोगाउन खोजेको भए त्यो माओवादीका लागि नै घातक हुनेछ ।एकातिर सुशासनको कुरा गर्ने माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले महरा बाबुछोराको संरक्षण गरेर जनतालाई कतै भ्रममा पार्न खोजेका त हैनन भन्ने आशंका पनि उत्पन्न भएको छ ।














