कलैया,राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै काठमाडौंमा भएको आन्दोलनका सहभागीले संचार क्षेत्रमाथि गरेको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ बारा शाखाले शनीवार कलैयामा विरोध प्रदर्शन गरेको छ ।
काठमाडौं तीनकुनेमा राजसंस्था समर्थकले एउटा घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । यसैगरी आन्दोलनकारीको आक्रमणमा परेर पत्रकार दिनेश गौतमको खुट्टा भाच्चिनुका साथै अन्नपूर्ण, कान्तिपुरजस्ता संचारगृहमा तोडफोड र आगजनी भएको थियो ।

पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सिकेन्द्र पासवान, प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव कमलकुमार उपाध्याय, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।यसैगरी नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा वीरगञ्जमा पनि विरोधका कार्यक्रम आयोजना गरिएको छ । घण्टाघरमा आयोजित कार्यक्रममा पत्रकारहरुले संचार क्षेत्रमामाथि भएको आक्रमण रोक्न माग गरेका थिए ।
यस्तै आन्दोलनमा पत्रकारको हत्या तथा सञ्चारकर्मी र सञ्चार गृहमा गरिएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघ मकवानपुरले विरोध कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– २ को पल्पसा सदनबाट विरोध ¥याली गर्दै हेटौंडा– ४ सिमाचोकमा पुगेर शनीवार कोणसभा गरिएको हो । ¥यालीमा पत्रकार र सञ्चार क्षेत्रमाथिको आक्रमण बन्द गर, पत्रकार हत्याको छानबिन गर, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गरलगायत लेखिएका प्लेकार्डसहित सञ्चारकर्मीहरु प्रदर्शनमा सहभागी थिए ।
यसैगरी सर्लाहीका पत्रकारले सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार विरोध ¥यालीमा सहभागी भई कोण सभामा उपस्थित भएका थिए । घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन् । पत्रकारहरूले ‘दोषीलाई कारबाही गर’, ‘सञ्चारमाध्यममाथि आक्रमण बन्द गर’ ‘प्रेस स्वतन्त्रता जिन्दावाद,’ ‘पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।



















