वीरगन्ज,गायक योगेश्वर अमात्यको जग्गाको बारामा रहेको जग्गाको नक्कली कागजात बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका चारै जनामाथि बैंकिङ कसुरमा अनुसन्धान थालिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ परेकाहरूमाथि सुरूमा लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो । अनुसन्धान गर्दै जाँदा बैंकिङ कसुर आकर्षित भएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो । प्रहरीले कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई पक्राउ गरेको थियो । अमात्यको बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको १२ बिगाहा जग्गाको नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रूपैयाँ निकालिएको थियो । गौतम र महर्जनले अमात्यको बिरुवा भूमि वनकाली कम्पनीको नामबाट १९ करोड निकालेका थिए । उक्त पैसा निकाल्दा अमात्यको जग्गाको नक्कली कागजात बनाइएको थियो ।
गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन । बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो । पर्सा शाखाबाट पैसा निकाल्ने चाँजो मिलाउँदा कर्मचारी ठाकुर र चौरसियाले उनीहरूलाई सहयोग गरेका थिए ।
प्रहरी उपरीक्षक महतोका अनुसार पक्राउ परेकालाई पटक–पटक गरेर २९ दिनसम्म थुनामा राख्न अदालतबाट अनुमति लिइएको छ । बैंक कर्मचारीकै मिलेमतोमा जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको थियो । गायक अमात्यको १२ बिगाहा जग्गा भने सुरक्षित भइसकेको छ ।
नक्कली कागजातका आधारमा ऋण निकालिएको थाहा पाएपछि कुमारी बैंकले कीर्ते गर्ने व्यक्तिहरूबाट त्यस बराबर रकमको धितो सुरक्षित गरिसकेको छ । नक्कली कागजात बनाएका गौतम र महर्जनको जग्गा–जमिन राखेर बैंकले १९ करोड रूपैयाँ बराबरको धितो सुरक्षित गराएको हो ।