सिमरा । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसा रोकथाम र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाराको सिमरामा अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

तीनदिने कार्यक्रमअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा कलेजको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जना विद्यार्थी, महिला तथा समाजसेवीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले यौनजन्य हिंसा रोक्न, पीडितलाई न्यायको पहुँचमा पुर्‍याउन र समाजमा सचेतना फैलाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टलगायतको उपस्थिति रहेको कार्यक्रममा प्रहरी निरीक्षक निरुता शिवाकोटी र ललिता ढकालले यौनजन्य हिंसाका स्वरूप, रोकथामका उपाय, कानुनी व्यवस्था तथा प्रहरीमा उजुरी गर्ने प्रक्रियाबारे जानकारी गराएका थिए ।

कार्यक्रममार्फत सहभागीलाई यौनजन्य हिंसाविरुद्ध आवाज उठाउन, पीडितलाई सहयोग गर्न र समुदायमा सचेतना फैलाउन प्रेरित गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply