सिमरा,पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै आएको जीतपुरसिमरा १ स्थित सिमरा पार्कमा बुधबार बिहान तीन वटा हरिण मृत अवस्थामा फेला परेका छन् । पार्कको तारबारभित्र पालिएका ६ वटा हरिणमध्ये तीन वटा मृत भेटिएका हुन ।

पार्कका कर्मचारीले बिहान हरिण मृत अवस्थामा देखेपछि डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सिमरालाई खबर गरेका थिए । मरेका हरिणको तिघ्राको मासु लुछिएको अवस्थामा भेटिएकाले हिंसक वन्यजन्तुले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।
थानीमाई वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुवेदीका अनुसार चितुवा वा बाघले तारबार नाँघेर हरिणलाई मारेको हुनसक्ने अनुमान छ । ‘केहीले चितुवाले भनेका छन्, केहीले बाघले मारेको पनि भनिरहेका छन्, ‘तर कुन जनावरले आक्रमण ग¥यो भन्ने खुल्न बाँकी छ ।’ सुवेदीले भन्नुभयो । उहाँले हरिणलाई आक्रमण नै गरेर मारेको भने पुष्टि भएको छ । बाँकी तीन वटा भने तारघेरा नाघेर भाग्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
भागेका हरिण पार्क पार्क परिसरमै छन् । तिनलाई सुरक्षित राख्ने चुनौती बढेको सुवेदीको भनाई छ । भागेर जोगिएका तीन वटा हरिण जोगाउन समूहले उपाय खोजिरहेको सुवेदीले बताउनुभयो ।घटनापछि डिभिजन वन कार्यालय र ईलाका प्रहरी कार्यालय सिमराको टोली पुगेर घटनास्थलको मुचुल्का गरी मारिएका हरिणलाई खाल्डो खनेर पुरिएको सुवेदीले बताउनुभयो ।



















