काठमाण्डौ,संघीय सरकारको मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा सातजना मन्त्री एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार सात जना मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघिको मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहे पनि प्रधानमन्त्रीले फेरि सात जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्नुभएको हो ।
गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुनुभएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पूर्व गृह मन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव नियुक्त हुनुभएको छ ।
यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि माओवादी केन्द्रमा रहेकी ज्वाला साह प्रदेश सभा सदस्यबाट बर्खास्तमा पर्नुभएको थियो । तर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउनुभएको हो ।
त्यस्तै मन्त्री बन्नु भएका गणेश पहाडी माधवकुमार नेपाल पक्षका हुनुहुन्छ । बिहिबार राजकिशोर यादवले शपथ लिएसँगै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । २० जना सांसद रहेका महन्थ ठाकुर पक्षका ११ जना मन्त्री सरकारमा सहभागी छन् । मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्रीको सङ्ख्या अब २५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here