रौतहट । नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय रौतहट देशभरकै उत्कृष्ट कार्यालय घोषित भएको छ। गत कात्तिक महिनाको कार्यसम्पादनका आधारमा रौतहट प्रहरीले पहिलो स्थान हासिल गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालयद्वारा गठित मूल्याङ्कन समितिले गरेको मासिक समीक्षामा विभिन्न सूचकका आधारमा रौतहट प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अभिलेख प्रणालीमा उपलब्ध विवरण, निर्धारित कार्यसम्पादन सूचक तथा मातहतका तालुक कार्यालयबाट प्राप्त मूल्याङ्कनका आधारमा रौतहटले शीर्ष स्थान हासिल गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयको कार्यसम्पादनलाई ‘क’ श्रेणी ९उत्कृष्ट०, ‘ख’ श्रेणी ९सन्तोषजनक० र ‘ग’ श्रेणी ९सुधार गर्नुपर्ने० गरी वर्गीकरण गर्ने गरेको छ। सोही मूल्याङ्कनमा रौतहट जिल्ला प्रहरी कार्यालय ‘क’ श्रेणीमा पर्न सफल भएको रिजालले बताए।

जिल्ला प्रहरी कार्यालयले यस उपलब्धिलाई संस्थागत कार्यकुशलता, व्यावसायिक दक्षता, अनुशासन, जिम्मेवारीबोध र नागरिक सेवाप्रतिको समर्पणको प्रतिफलका रूपमा लिएको छ।

यस सफलताका लागि योगदान पुर्‍याउने सम्पूर्ण प्रहरी कर्मचारी, मातहतका प्रहरी इकाइ तथा समन्वय र सहकार्य गर्ने सरोकारवाला निकायप्रति कार्यालयले आभार व्यक्त गरेको छ।

प्रहरी उपरीक्षक रिजालले आगामी दिनमा पनि जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम राख्दै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply