वीरगञ्ज,वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी हुनुभएको छ । यादव नेपाली कांग्रस निकट नेविसंघ, नेकपा एमालेको अनेरास्ववियु र अन्य दल निकट विद्यार्थी संगठनका उम्मेदवारहरुलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
बिहीवार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार, स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेविसंघबाट सभापतिका उम्मेदवार विकास मण्डल धानुककले ६५३ मत पाउनुभएको छ । समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरिकिशोर यादवले ५६२ मत, सुधीर पटेल समूहका कमलेशकुमार यादवले ४५० मत र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाउनुभएको छ ।
सभापति पदमा १४ जना प्रतिस्पर्धामा थिए। यादवलाई कांग्रेसले नेविसंघको तर्फबाट उम्मेदवार नबनाएपछि उहाँले नेपाल विद्यार्थी समूहको नाममा प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको थियो । यस्तै स्ववियु सचिवमा यादव प्यानलकै मन्दिरा चौधरी ६७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दिपक पटेलले ५९९ र नेविसंघका रोहित सिंहले ५४३ मत ल्याएका छन । यस्तै कोषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेविसंघका दिपक पटेलले ६९० मत ल्याउनुभयो ।१६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत खसेको थियो।


















