बरियारपुर,जिल्ला अदालत बाराको फैसला आदेशले कैद र जरिवाना सजाय पाएका २ जना फरार प्रतिवादीहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने मनिष गिरी र सोही उपमहानगरपालिका वडा नम्बर १ का भोला भन्ने बृजकिशोर पटेललाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । चोरी मुद्दाका गिरीविरुद्ध अदालतले ०७४ माघ महिनामा १ महिना १५ दिन कैद र १२ हजार जरिवाना फैसला गरेको थियो । त्यसैगरी अर्का प्रतिवादी पटेललाई जिल्ला अदालत बाराले लागूऔषध मुद्दामा ०७४ असोजमा १ वर्ष कैद र १० हजार रुपैया जरिवाना फैसला गरेको थियो । अदालतको फैसलापछि दुबैजना फरार रहदै आएको प्रहरीको भनाइ छ । पक्राउ परेका दुबैजनालाई दालतमा पेश गरिएकोमा अदालतको आदेशानुसार निजहरूलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।