सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले कृषि व्यवसायमा विद्युतीकरणलाई प्रोत्साहन गर्दै ५ वटा वडाका किसानलाई सिँचाइमा सहुलियत दिने निर्णय गरेको छ। नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १७, १८, १९, २० र २४ मा कृषियोग्य जमिनमा विद्युत् मिटर जडान गर्ने र सो मिटरको शुल्क समेत नगरपालिकाले व्यहोर्ने निर्णय गरेको हो।
नेपाल विद्युत् प्राधिकरण र कलैया वितरण केन्द्रसँगको सहकार्यमा किसानका खेतहरूमा कृषि विद्युत् प्रशारण लाईनको निर्माण कार्य सम्पन्न भएको छ। नगरपालिकाका अनुसार नयाँ योजनाले किसानहरूलाई नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गरी सिँचाइमा सहजता ल्याउने छ। यसले किसानहरुलाई आधुनिक कृषि प्रविधि अपनाउन र पेसालाई व्यवसायीकरण गर्न टेवा पुग्ने विश्वास गरिएको छ।
नगरपालिकाको निर्णयले किसानहरू लाभान्वित हुने भएका छन । तर, यसअघि पनि कृषि मिटरको महसुल नगरपालिकाले तिर्ने भनेर सूचना जारी गरिए पनि कार्यान्वयन नहुँदा किसान निराश बनेका थिए । वडा नम्बर १७ का पूर्ववडा अध्यक्ष नवराज खड्काका अनुसार उपमहानगरपालिकाले किसानको लागि महत्वपूर्ण निर्णय गरे पनि कार्यान्वयनमा आउनेमा भने शंका व्यक्त गर्नुभएको छ ।

















