कलैया,बाराको दक्षिणी सीमासंग जोडिएको सुवर्ण गाउँपालिकामा भ्रष्टाचारका घटना बाहिरिदै जाँदा पालिकाका अध्यक्ष राजेशप्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृतबीचको ‘सेट्टिङ्ग’ बारे थप नयाँ घटना खुलासा भएका छन । ।
पालिका अध्यक्ष यादवले स्वास्थ्यतर्फका छैठो तहका कर्मचारी सुजितकुमार यादवलाई पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकारी बनाएर व्यापक अनियमितता गरेको खुलेको हो ।सोहि पालिकाको वडा नम्बर– ४ का वडा अध्यक्ष झक्कड यादवको छोरा सुजितकुमार यादवलाई कार्यालयको कार्यकारी प्रमुखको जिम्मा दिएर पालिका अध्यक्ष यादवले सेट्टिङ्गकै भरमा पालिकाबाट हुने विकाश निर्माणदेखि जिन्सी खरिदमा समेत भ्रष्टाचार गरिरहेको स्रोतको दाबी छ ।

पालिकाकोलागि खरिद गरिने औषधी, फर्निचर, स्टेशनरी, छपाई र पत्रपत्रिकामा प्रकाशित हुने सूचनामा समेत कमिशनको खेल भइरहेको बताइन्छ । गाउँपालिका अध्यक्ष यादव, अधिकृत सुजितकुमार र आईटी अफिसर मृगेन्द्र यादवको मिलिमतोमा कार्यालयबाट प्रकाशित हुने सूचनाहरु सम्बन्धित पत्रिकामा नदिइ कमिशनको लागि कलैया, वीरगञ्ज र काठमाडौं लगायतका केही एजेन्सीहरुलाई दिने र लाखौं कमिसन लिने गरेको पाइएको छ ।
केहिदिन पहिला मात्रै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत यादवको ‘निमित्त’ भएर काम गर्ने अधिकार खोसेको थियो । तर केहिदिनमै पालिका प्रमुख यादवले ‘नजराना’ बुझाएर उनलाई पुनः निमित्तको जिम्मेवारीमा फर्काएको पालिका स्रोतले दाबी गरेको छ ।पालिका अध्यक्ष यादवको बैङ्क खातामा अस्वभाविक रुपमा लाखौं रकम ट्रान्सफर भएको सूचनाको आधारमा छानबिनको लागि अख्तियारको टोलीले पालिकाको कार्यालयमा गत महिना छापा मारेको थियो ।
सो क्रममा अध्यक्ष यादवलाई करिब ३ घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो भने उनले प्रयोग गर्ने २ थान मोबाईल र त्यसमा प्रयोग हुने ४ थान सिमकार्ड अहिले पनि अख्तियारको नियन्त्रणमा छ ।


















