कलैया,बाराको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनियमितता गर्ने दुई जना निरीक्षकलाई पदबाट हटाउन निर्देशन जारी भएको छ ।मङ्गलवार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा बसेको एसईई परीक्षा समन्वय समितिको बैठकले महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक प्रमोदकुमार यादव र विष्णु आचार्यले परीक्षाको मर्यादा उल्लङ्घन गरेको ठहर गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार, उनीहरूले गरेको अनुचित कार्यका कारण निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ ।“दुवै निरीक्षकलाई तत्काल जिम्मेवारीबाट हटाउन बैठकले निर्णय गरेको छ,” सहायक प्रजिअ भट्टराईले भन्नुभयो । मंगलवार परीक्षार्थीहरूले विज्ञान विषयको परीक्षा दिएका छन् ।यसैबीचमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेरि चिट चोर्न प्रयोग गरिएका ४७३ थान मोबाइल अनुगमन समितिले नियन्त्रणमा लिएको छ।

मंगलवार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरूले शरीरमा लुकाएर परीक्षा हलभित्र लागेको ४७३ थान मोबाइल चेकजाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताउनुभएको छ ।

हालसम्म चिट चोराउने उद्देश्यले लगिएका १७०६ थान मोबाइल बरामद गर्नुका साथै परीक्षाको मर्यादाविपरीत काम गरेका ६ जना निरीक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिनुभयो । निरीक्षकहरूमाथि परीक्षाको मर्यादा उल्लंघन सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको एसपी घिमिरेको भनाई छ।

विगतमा ‘न्याय नपाए गोर्खा जानु भने जस्तै एसएलसी परीक्षा पास गर्नु रौतहट जानु’ भनेर सिङ्गो जिल्ला बदनाम भएको थियो। एसएलसी बाट एसईईमा परिणत भएपछि पछिल्लो बदनामी हटेको थियो। तर गत वर्ष देखि एसईई परीक्षामा पनि पुरानै ढाँचा देखिएको छ।यहाँ केही शिक्षक तथा सहयोगीहरू ह्वाट्सएप ग्रुप बनाएर परीक्षामा चिट चोराउने गरेको कारण जिल्लामा परीक्षार्थीहरूले मोबाइलको प्रयोग गरिरहेका छन्। गत वर्ष एसईई परीक्षामा प्रहरी तथा अनुगमन टोलीले झण्डै २ हजार मोबाइल बरामद गरेको थियो। परीक्षा सम्पन्न भएको करिब १ हप्ता पछि बरामद उक्त मोबाइलहरू नजिकको प्रहरी युनिट मार्फत सम्बन्धित विद्यार्थीलाई फिर्ता गरेको थियो।

त्यस्तैमाध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को पाँचौँ दिन सर्लाही जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा कडा अनुगमन गरिएको छ । परीक्षा अनुशासन कायम राख्न प्रशासनले कडाइका साथ निगरानी बढाएको परिणामस्वरूप परीक्षा नियमावली उल्लङ्घन गर्ने चार जना निरीक्षक निष्कासित भएका छन् भने एक विद्यालय सहयोगीलाई नियन्त्रणमा लिइएको छ ।सर्लाहीको ईश्वरपुर नगरपालिका–६, केशरगञ्जमा रहेको श्री नारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मङ्गलवार अनुगमनका क्रममा चार जना निरीक्षक मोबाइल फोनसहित कक्षा कोठामा भेटिएका थिए । परीक्षा नियमावलीअनुसार परीक्षा हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ । नियम उल्लङ्घन गरेको पुष्टि भएपछि निरीक्षकहरूलाई तत्काल प्रभावबाट परीक्षा केन्द्रबाट निष्कासन गरिएको छ ।

निष्कासित हुने निरीक्षकहरूमा विजय पौडेल, सिद्धि बराल, जितेन्द्र यादव र तमुज अन्सारी रहेका छन् ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार निरीक्षकहरूले परीक्षा सञ्चालनको जिम्मेवारीमा रहँदा समेत नियमको उल्लङ्घन गरेको पाइएपछि कडा कारबाही गरिएको हो । “परीक्षाको पवित्रता र निष्पक्षता कायम राख्न हामीले शून्य सहनशीलताको नीति अपनाएका छौं,” प्रजिअ श्रेष्ठले भन्नुभयो, “नियम उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइन्छ ।”
त्यसैगरी परीक्षा केन्द्रमा अनियमित गतिविधिमा संलग्न रहेको आशङ्कामा एक विद्यालय सहयोगीलाई पनि नियन्त्रणमा लिइएको छ । उनको परिचय भने तत्काल खुलाइएको छैन । प्रजिअ श्रेष्ठले सहयोगीमाथि अनुसन्धान भइरहेको र आवश्यक प्रमाण फेला परे थप कारबाही अघि बढाइने बताउनुभयो ।उता, एसइईको मंलवार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।परीक्षा भइरहेको बेला बाहिरबाट चिट बोकेर केन्द्रमा प्रवेश गरेको आरोपमा समसी ५ पोखरभिन्डाका ४५ वर्षीया विनित झालाई खखना केन्द्रबाट तथा बलवा १ बञ्चौरीका २२ वर्षीय रोहित साहलाई धमौरा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका झालाई इलाका प्रहरी कार्यालय गौशाला तथा साहलाई इलाका प्रहरी लोहरपट्टीले सोधपुछ गरिरहेको जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी सन्तुलाल जयसवारले बताउनुभयो ।अनुगमन टोलीले निगौल केन्द्रबाट परीक्षार्थीको साथबाट एक थान मोवाइल बरामद गरेको उहाँको भनाइ छ । त्यस्तै परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा २ जना निरीक्षकमाथि कारवाही गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने नेतृत्वको परीक्षा अनुगमन टोलीले जनता मावि कोल्हुवा केन्द्रका निरीक्षक सीतेन्द्रराज शरणमाथि कारवाही गरेको हो ।अनुगमनका क्रममा शरणले अमर्यादित कार्य गरेको भेटिएपछि परीक्षा अवधीभरका लागि निष्कासन गरिएको न्यौपानेले बताउनुभयो ।लगत्तै शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख रेविका अमात्यको नेतृत्वमा रहेको अनुगमन टोलीले रामदेव जनता मावि भमरपुराका निरीक्षक रानाकुमार यादवलाई पनि परीक्षा अवधीभरको लागि निष्कासन गरेको छ ।

Leave a Reply