कलैया,बारा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र. ०३– ००१ क.२२४३ नम्बरको टेलर (लहरी) को क्याबिनको सिटमुनी लुकाइएको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडक खण्डबाट ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सवारी चेकजाँच गर्दा २८ एम्पुल डाइजेपाम, २८ एम्पुल नुर्फिन, २८ एम्पुल फेनार्गन, नाइट्राभेट १० लेखिएको ७५ ट्याब्लेट र नाइट्राजेपाम ८० ट्याब्लेट बरामद गरेको हो ।त्यस्तै प्रहरीले वीरगन्जबाट मकवानपुरतर्फ जाँदै गरेको म.प्र.०३–००१ क २२४२ नम्बरको टेलर (लहरी) को क्याबिनस्थित सिटमुनीबाट पनि लागूऔषध बरामद गरेको छ ।प्रहरीले डाइजेपाम, नुर्फीन र फेनार्गन २६÷२६ एम्पुल, नाइट्राभेट १० लेखिएको १ सय ५० ट्याब्लटे र नाइट्राजेपाम ४० ट्याब्लेट बरामद गरेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।प्रहरी उपरीक्षक बोगटीकाअनुसार लागूऔषधसहित रामेछापको खाँडदेवी गाउँपालिका वडा नम्बर २ निवासी ३१ वर्षीय अर्जुनकुमार श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ निवासी १९ वर्षीय दिपेश कार्की र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय पुष्पबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।



















