निजगढ,दूध बिक्रीको रकम भुक्तानी नपाएको भन्दै बाराका दूध उत्पादक किसानले बिहीवार निजगढस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध जनाएका छन । निजगढको पूर्वपश्चिम राजमार्गस्थित शहीद चोकमा जिल्लाका विभिन्न पालिकाबाट भेला भएर किसानले बिहान १० बजेदेखि १२ बजेसम्म सडक अवरुद्ध पारेका हुन ।किसानहरुले राजमार्गमै बसेर नारा जुलुससहित प्रदर्शन गरेपछि रोकिएका सवारी र ढुवानीका साधनहरुलाई बाइपास सडकमार्फत सुचारु गर्ने क्रममा केही बेर प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच हात हालाहालसमेत भएको थियो । किसानहरुले बाइपास सडक समेत अवरुद्ध पार्न खोजेपछि उनीहरुलाई रोक्ने क्रममा दुबै पक्षबीच तनाव उत्पन्न भएको हो । आक्रोशित किसानहरुले ईलाका प्रहरी कार्यालयअगाडि पुगेर प्रदर्शन गरेपछि केही बाइपास सडक पनि अवरुद्ध बन्नपुगेको थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाराको आयोजनामा भएको आन्दोलनमा जिल्लाभरका दुग्ध किसान र संस्थाका प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, निजगढस्थित विभिन्न पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।देशव्यापी आन्दोलनको घोषणा गरेका किसानहरुले ‘बिक्री भएको दूधको भुक्तानी पाउनुपर्ने, ‘मिल्क होलिडे’ अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राखेर बिहीवार देशका सबै प्रमुख मार्गमा २ घण्टा अवरुद्ध पारेका थिए ।

यस्तै उद्योगलाई बेचेको दूधको पैसा नपाएपछि मकवानपुरका दुग्ध किसानले पनि विरोध प्रदर्शन गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका किसानहरूले केहीबेर सडक बन्द गरेर प्रदर्शन गरेका हुन् ।
सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम दिएका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ पाउन बाँकी रहेको बताउनुभयो ।
यस्तै रौतहटमा पनि किसानहरुले पूर्वपश्चिम राजमार्ग २ घण्टा अवरुद्ध पारेका थिए । काभ्रेका किसानहरूले अरनिको राजमार्ग बन्द गरेर केहीबेर प्रदर्शन गरेका थिए । विरोधमा अन्यत्र दुध पोखे पनि काभ्रेमा भने किसानले बटुवालाई दूध खुवाएर विरोध जनाएका थिए ।दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी नपाएको भन्दै देशैभरका किसान आन्दोलनमा छन् ।दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि सरकारले दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here