सिमरा,बारा जिल्लाका विभिन्न स्थानमा उत्पादित घरेलु मदिरा वीरगन्ज लैजाने क्रममा प्रहरीले मदिरा सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्लाको पथलैया र अमलेखगञ्ज क्षेत्रमा उत्पादित घरेलु मदिरा ट्रकमा लुकाएर वीरगन्जका पसलमा लैजाने क्रममा पर्सा प्रहरीले जफत गरेको हो । प्रहरीले बुधबार बेलुकी अमलेगञ्जबाट वीरगन्जका होटल र पसलतर्फ लैजादै गरेको अवस्थामा मालवाहक ट्रकबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको थियो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकस्थित सडकमा ना २ ख ९३५७ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा उक्त ट्रकमा लुकाइछिपाइ ल्याइएको अवैध घरेलु मदिरा ७ सय ६५ लिटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार मालवाहक ट्रकका चालक वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी ५४ वर्षिय लक्ष्मण साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद मदिरा खन्याएर नष्ट गरिएको र चालक सहित ट्रकलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगन्जमा बुझाइएको डिएसपी खनालले जानकारी दिनुभयो ।

Leave a Reply