वीरगंज, १ भदौँ– वीरगंजबाट प्रकाशित हुदै आएको मध्य नेपाल सन्देशकी पत्रकार कविता खडका सुवोध स्मृति फोटो पत्रकारिता २०७७ बाट सम्मानित हुनुभएको छ ।
प्रतीक दैनिकको ३४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार सुवोध स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पत्रिकाका प्रधान सम्पादक जगदीश शर्माले २५ हजार रुपैयाँ राशीको पुरस्कार र प्रमाणपत्रसहित खडकालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
वीरगंजबाट प्रकाशित हुने पत्रिकामा प्रकाशित मध्ये छनाैट भएका एकजना पत्रकारलाई प्रतीक दैनिकको वार्षिकोत्सव अवसर पारेर प्रतिष्ठानले हरेक वर्ष सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकोछ ।
२०७३ सालदेखि मध्य नेपाल सन्देश पत्रिका र मध्य नेपाल अनलाईन सञ्चालन गर्दै आउनुभएकी खडका वीरगंजमा क्रियाशील महिला पत्रकारको रुपमा चिनिनुहुन्छ । सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कारकोलागि विगत ३ वर्षदेखि निरन्तर प्रतिस्पर्धामा सामेल हुदैँ आउनुभएकी खडकाले यो वर्ष पुरस्कार हात पार्नभएको हो । पुरस्कारले पत्रकारिता क्षेत्रमा अझ सक्रियताकासाथ लागी रहने प्रेरणा मिलेको खडकाको भनाइ छ ।
सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कारबाट यसअघि राम सर्राफ, राम क्षेत्री, उत्तम खडगी, जीतलाल श्रेष्ठ, मनीष पौडैल, जियालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य र पंकज श्रेष्ठले सम्मानित भइसक्नुभएको छ । वार्षिकोत्सवको अवसरमा प्रतीक दैनिकले वीरगंजका अयोध्याप्रसाद तत्वासहित टोल सरसफाइ गर्ने ६ जनालाई नगद पुरस्कारले सम्मान गरेको छ ।
त्यसैगरी स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रहरी सहायक निरीक्षक इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई पनि सम्मान गरिएको छ । वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघन नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।