रौतहट,प्रेस चौतारी नेपालले सो संगठनका मधेस प्रदेश अध्यक्ष फणीदेव महतको उपचारका लागि १ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।संगठनको मधेस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा रौतहतको चन्द्रनिगाहपुरमा सोमवार आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उहाँको उपचारका लागि १ लाख रुपैँयाको चेक प्रदान गर्नुभएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या भई उपचार गराइरहनुभएका महतको उपचारका लागि संगठनले सो सहयोग गरेको हो ।
प्रेस चौतारी नेपाल रौतहटको यसै महिनाको शुरुमा भएको जिल्ला अधिवेशनमा महतको उपचारका लागि प्रेस चौतारी नेपालको तर्फबाट सहयोग गर्ने अध्यक्ष बस्नेतले घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार सोमवार रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष बस्नेतले महतको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतको उपस्थितिमा संगठका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

















