काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।मंगलवार सङ्घीय संसद्को दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले पौडेलले वर्तमान सरकार समाजवाद उन्मुख आर्थिक, सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाली नागरिकको सुख, समुन्नतिका लागि संङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नागरिकमा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताउनुभयो ।यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि सङ्घीय संसद्को दुवै सदनको बैठक स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठकमा अवरोध गरेका हुन् । यो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेस सांसदले नाराबाजी गरी अवरोध गरेसँगै सभामुख देवराज घिमिरेले अर्काे बैठक बिहीवार बिहान ११ बजेका लागि बोलाउनुभएको छ ।
कांग्रेसले राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ । राष्ट्रिय सभामा पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन । कांग्रेसले अवरोध गरेपछि सभाका अध्यक्ष नारायण दाहालले बिहीवारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।संसद्को दुवै सदनको बैठकमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समितिको माग गर्दै नाराबाजी गरेको हो । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गर्दै आएको छ ।
रक्सौल–काठमाण्डौँ रेलमार्ग
रक्सौल–काठमाडौँ रेलमार्गको लगानी विधि निक्र्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।यसैगरी सरकारले जयनगर बर्दिबास रेलमार्गको विजेलपुरा बर्दिबास खण्ड तथा बथनाह विराटनगरको रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिने भएको छ ।‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचाह खण्डको निर्माण सम्पन्न गरिने, केरुङ काठमाडौँ रेलमार्गको सञ्चालन सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न गरिने राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै जनाउनुभयो ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा पारिने
काठमाडौं, सरकारले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने भएको छ ।मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास गरिनेछ। जानकी मन्दिर लगायतका महत्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिनेछ ।
सांस्कृतिक तथा धार्मिक स्थलहरूको पर्यटकीय स्थलको संस्थागत विकासका लागि व्यवस्था गरिनेछ ।
हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइन पूरा हुने
सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सक्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको काम सक्नुका साथै बुढीगण्डकी प्रसारण लाइनको सम्भाव्यता अध्ययन सकिने समेत बताउनुभयो ।
प्रदेशमा एक हजार गाई र भैँसी पाल्न स्रोत केन्द्र खोल्ने
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ ।
सरकारले मंगलबार नीति तथा कार्यक्रममा गाई र भैँसी पालन क्षमताको लागि पूर्वाधार स्रोत केन्द्र विकास गर्ने योजना सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।
त्यसैगरी सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि खोप उत्पादन तथा नियन्त्रणको व्यवस्था मिलाउने घोषणा गरेको छ ।हिमाली क्षेत्रमा भेडा, बाख्रा, च्याङ्ग्रा, चौरी लगायत पशुपालन एवम् चयाउ, ओखर जस्ता जडीबुटीको ठुला फार्म सञ्चालन गर्न हिमाल समृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ ।