वीरगन्ज,पर्सामा लागुऔषध चरेशको ओसार प्रसारमा महिलाको प्रयोग हुन थालेको पाइएको छ । जिल्लाबाट चरेश ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ परेपछि यसको पुष्टि भएको हो । तीनजना मध्ये एक महिलाको साथमा एउटा दुधे बच्चा पनि छ ।पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र २३ वर्षीय रीता विश्वकर्मा छन् । रीताको साथमा दुधे बच्चा पनि रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।कल्पना र कवितामायाको साथबाट १३ किलो ८ सय ग्राम चरेश फेला परेको र रीता पनि सोही समूहको भएकोले पक्राउ गरिएको दावी प्रहरीको छ ।कल्पनाको साथबाट ८ किलो ६ सय ९० ग्राम कवितामायाको साथबाट ५ किलो १ सय १० ग्राम गरी १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको प्रहरीको भनाइ छ ।बुधबार साँझ साढे ७ बजे जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–२ बागवानाबाट उनीहरुलाई प्रहरीले पक्रेको थियो । अस्थायी प्रहरी पोष्ट मनवाको टोलीले बाराको जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना. २ ह ३१८६ नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा चरेशसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।अटोमा सवार उनीहरुले बोकेको झोला खानतलासी गर्दा १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुमाथि लागु औषधविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply