सिमरा,सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उत्पादित सामग्री अन्तर्राष्ट्रिय बजारमा पुग्न थालेका छन्।सिमरा सेजमा उत्पादन सुरू गरेलगत्तै बालाजी म्यानुफ्याक्चरिङ प्रालिले उत्पादन गर्ने बाल्ट्रा ब्राण्डका सबै उत्पादन विदेश निर्यात भएको विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले जानकारी गराएको छ।बाल्ट्राले वार्षिक ५० हजार पिस कुकटप, ६ लाख वटा कित्ली तथा इन्डक्सन बेस कुकर, ६ लाख वटा कुकवेयर र एक लाख २० हजार वटा हिटर उत्पादन गर्ने क्षमता छ। अहिले भने इलेक्ट्रिक कित्ली उत्पादन गरेको र ती सबै निर्यात भइरहेको सेज प्राधिकरणले जानकारी गराएको छ।
उसले पुस महिनामा १४ हजार ५३१ वटा र माघ महिनामा १५ हजार ५०४ वटा कित्ली भारत निर्यात गरेको छ। बाल्ट्राले दुई महिनाको अवधिमा एक करोड १५ लाख ५० हजार रूपैयाँ बराबरको कित्ली उत्पादन गरेकोमा सबै निर्यात गरेको हो।
सिमरा सेजबाट गत पुस महिनादेखि निर्यात सुरू भएको छ।
पशुपती टायल्स उद्योग पनि उत्पादनसँगै निर्यातको तयारीमा रहेको छ। प्राधिकरणका अनुसार आगामी महिनाबाट पशुपति टायल्सका उत्पादन निर्यातको तयारीमा रहेको छ । उद्योगले गत चैतबाट उत्पादन सुरू गरेको थियो । यो उद्योगले हालसम्म नेपाली बजारमा १८ करोड बढीको टायल बिक्री गरिसकेको जनाएको छ।

















