पर्सा,नेकपा एमालेका केन्द्रिय सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टीले देशको विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने स्पष्ट पार्नुभएको छ ।नेकपा एमाले पर्साको बिन्दबासिनी गाउँपालिकाको कमिटीले सोमवार बिन्दबासिनीको बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोश्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको बताउनुभएको हो ।
विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उहाँले बताउनुभयो । ‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाक्षा पूरा हुनसक्छ ।’ उहाँले भन्नुभयो ।
एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको मन्त्री गुप्ताले बताउनुभयो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसंग जोड्ने योजना अन्तर्गत हुलाकी राजमार्ग योजना समेत नेकपा एमालेले ल्याएको उहाँको भनाई छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेको सरकारमा आफूले पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती ऐनको विवाद पटक पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पुर्याएको बताउनुभयो साथै केही दिन भित्रै संघीय निजामती ऐन पारित गरी राष्ट्र सेवक कर्मचारीहरुमा खुसियाली दिने उहाँले बताउनुभयो ।
















