काठमाडौं,भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।
केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् । राति घर जाने क्रममा चक्कु प्रहार गरी शानको हत्या गरिएको थियो । कारमा आएको एक समूहले शान चढेको मोटरसाइकललाई हिर्काएपछि उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै कोची अस्पतालमा लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आइतबार बिहान मर्निङ वाकका लागि बाहिर निस्कने तयारी गरिरहेका बेला श्रीनिवासनको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भाजपाको ओबीसी मोर्चाका प्रान्तीय सचिवसमेत रहेका श्रीनिवासन हालै सम्पन्न विधानसभा चुनावमा उम्मेदवार थिए ।
दुई नेताको हत्या लगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ ।
केरलका मुख्यमन्त्री पिनराई विजयनले हत्याको निन्दा गर्दै संलग्नलाई कडा कारबाही गरिने बताएका छन् । ‘यस खालको जघन्य एवं अमानवीय हिंसा राज्यका लागि खतरनाक छ’, पत्रकार सम्मेलनमा बोल्दै विजयनले भने, ‘सबै मानिसले यस्ता हत्यारा समूहको पहिचान गरी एक्ल्याउने छन् भन्नेमा म विश्वस्त छु ।’
भाजपा र एसडीपीआईले एकअर्कामाथि हत्याको दोष लगाएका छन् । भाजपाका प्रान्तीय अध्यक्ष के सुरेन्द्रनले ६० दिनको अवधिमा आफ्ना ३ जना नेताको निर्मम हत्या भएको र आततायी समूहले राज्यलाई अस्थिर बनाउन खोजेको बताएका छन् ।
तर एडीपीआईले भाजपाको वैचारिक गुरु आरएसएसमाथि हमलाको योजना बनाएको आरोप लगाएको छ । ‘यो राज्यमा साम्प्रदायिक हिंसा सिर्जना गर्ने र साम्प्रदायिक सदभाव खल्बल्याउने संघ परिवारको एजेन्डाको एक अंग हो’, सो पार्टीका प्रमुख एमके फैजीले भने ।