सिमरा,नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतिसँगै सिमरा– काठमाण्डौं हवाई भाडा घटेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको नयाँ भाडा दरअनुसार सिमरा– काठमाण्डौंको लागि १२५ रुपैयाँ कम भएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौति भएको छ । घटेको हवाई भाडा मंगलवारदेखि कार्यान्वयन भएको छ ।नेपाल आयल निगमले सोमवार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौति गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो ९.३ प्रतिशत कटौति हो ।प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ । काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।प्राधिकरणका अनुसार स्टल रूटतर्फ प्रतिसिट प्रतिमिनेट ५१.६८ रुपैयाँ र ट्रंकतर्फ प्रतिसिट प्रतिमिनेट ७२.३४ रूपैयाँका दरले इन्धनको मूल्य राख्ने गरिएको छ ।


















